
विराटनगर । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विराटनगरमा आयोजना हुन लागेको ‘बृहत् सनातन सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको छ । सनातन सम्मेलन मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी सम्मेलनको प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो ।
असार ६ गते शनिबार विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको मैदानमा आयोजना हुने यस सम्मेलनलाई ऐतिहासिक मानिएको छ । नेपालमै पहिलो पटक तीन प्रमुख धर्म हिन्दु, बौद्ध र किराँतका सर्वोच्च आध्यात्मिक गुरुहरू एउटै मञ्चमा उपस्थित भई सद्भावको साझा सन्देश दिने आयोजकले दाबी गरेको छ ।
सम्मेलनको मुख्य आकर्षणका रूपमा जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी (भारत), अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपालका अध्यक्ष भिक्षु जिग्डोल (फुपु छेम्बे शेर्पा) र किराँत धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ रहेका छन् । यी शीर्ष व्यक्तित्वहरूको उपस्थिति र प्रवचनले नेपाल र भारतका हजारौँ श्रद्धालुहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीले यस्ता ठुला धार्मिक सम्मेलनले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताए । उनले भने, ‘यस्ता कार्यक्रमले नेपाललाई ‘विविधतामा एकता’ भएको देशका रूपमा विश्वभर चिनाउन मद्दत गर्छ र सांस्कृतिक पर्यटनका लागि नयाँ ढोका खोल्छ ।’
यो सम्मेलन कुनै एक विशिष्ट धर्म वा समुदायमा मात्र केन्द्रित नभई सबै धर्म, संस्कृति र समुदायबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने साझा मञ्च भएको आयोजकको भनाइ छ । सम्मेलन सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
सम्मेलनमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट आउने श्रद्धालुहरूको सहजताका लागि सुरक्षा, खानेपानी र प्राथमिक उपचारको समेत समुचित व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।



















