विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ असार ९, मंगलबार १९:४८

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सोमबार मध्यराति एउटा अनौठो र रहस्यमय दृश्य देखियो । घटना राति करिब १२ः३० बजेतिरको हो ।

घटनासँग सम्बन्धित भिडियो हेर्दा घाटमा शव जलाउनलाई चिता बनाउने ठाउँमा आगो बालेर ६ जना युवाहरु बसिरहेको देखिन्छ । त्यहाँ रहेकामध्ये २ जना युवा उभिएर एकअर्कालाई धकेलाधकेल गर्दै वादविवाद गरिरहेका थिए । तीमध्ये १ जना युवा पूरै नांगो अवस्थामा छन् भने अर्का युवाले कम्मरमुनिको भित्री वस्त्र मात्रै लगाएका छन् । उनीहरुले अश्लील शब्दहरु बोलेको पनि सुन्न सकिन्छ ।

Advertisement

निर्वस्त्र रहेका युवाले भुइँबाट खरानीजस्तो वस्तु उठाएर भित्री वस्त्र लगाएका युवाको शरीरमा बारम्बार दलिदिएजस्तो देखिन्छ । ती २ जनाबीच केहीबेर वादविवाद र धकेलाधकेल चलिरहेको भिडियोमा देख्न सकिन्छ । उनीहरुले टाउकोमा कालो कपडाको फेटा बाँधेका छन् ।

नांगै रहेर विभिन्न हर्कतहरु गरिरहेको दृश्य त्यहाँ रहेका अरु ४ जनाले हेरिरहेका थिए । तर, बसिरहेका उनीहरुले कुनै प्रतिक्रिया जनाउँदैनन् । बसेकामध्ये १ जना युवाले भित्री वस्त्र लगाएका छन् । अरु ३ जनाले पूरै कपडा लगाएका छन् । कपडा लगाएकामध्ये १ जना कालो कपडा लगाएर उभिएका छन् ।

आगो बालिएको स्थान अर्थात् चिता बनाउने ठाउँको वरपर माटोको घैला, पानीका बोतलहरु, दाउरा लगायत देखिन्छ सकिन्छ । चिता बनाउने ठाउँमा भने दाउराको आगो दनदनी बलिरहेको छ । बलिरहेको आगोमाथि पनि माटोको भाँडो राखेजस्तो देखिन्छ । अत्यधिक गर्मीका बेला ती युवाहरु आगो वरपर बसेका छन् ।

शव जलाउने घाटमा मध्यराति भेटिएका युवाहरुले नांगै रहेर कस्तो हर्कत गरेका हुन् भन्ने यकिन छैन । स्थानीयले भने मदिरा सेवन गरेका युवाहरुले घाटमा आएर होहल्ला गर्दै शरीरका कपडा पूरै खोलेर अश्लील हर्कत गरेको बताए । त्यस घटनासँग सम्बन्धित भिडियो पनि स्थानीयले नै खिचेका हुन् ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय समीर भुजेलले होहल्ला सुनेपछि घाटमा पुगेर हेर्दा यस्तो दृश्य देखिएको बताए । ‘घाटको चिता बनाउने ठाउँमा दाउराको आगो बालेर ६ जना युवा बसिरहेका थिए । तीमध्ये केही नांगै थिए । केहीले मात्रै कपडा लगाएको पायौं । उनीहरुले मदिरा वा अरु कुनै वस्तुको नसामा लट्ठ भएर अश्लील हर्कत गरेजस्तो देखिन्थ्यो,’ भुजेलले भने ।

उनका अुनसार होहल्ला सुनेपछि छरछिमेकी युवाहरु भेला भएर घाटमा पुग्दा लज्जानक दृश्य देखिएको थियो । ‘हामी छरछिमेकी ८–९ जना युवाहरु घाटमा पुग्यौं । परबाट हेर्दा त शव (लास) जलाएजस्तो देखिन्थ्यो । तर, नजिक पुग्दा मात्रै त्यहाँ रहेका र नांगै बसेका युवाहरुले अश्लील हर्कत गरिरहेको पायौं । त्यसपछि हामीले मोबाइलबाटै भिडियो बनाउन थाल्यौं । सोधीखोजी गर्दा पनि उनीहरुले कुनै जवाफ दिएनन्,’ भुजेल भन्छन् ।

उनका अनुसार सोधीखोजी गर्दा ती युवाहरुले उल्टै अश्लील शब्द प्रयोग गरेर गालीगलौज गरेको उनले बताए । ‘उनीहरुले गालीगलौज गरे पनि हामी जाइलागेनौं । बरु हाम्रो गाउँठाउँमा यस्तो गलत हर्कत हुनु ठीक हैन भन्ने लाग्यो । गलत गतिविधि रोक्नुपर्छ भनेर प्रहरीलाई पनि खबर गर्यौं । तर, प्रहरी आएनन्,’ उनले भने । भुजेलले मुर्दा जलाउने घाटमा मध्यराति केही युवाहरू नांगै अवस्थामा अश्लील हर्कत गरेर बसेको दृश्यले सबैलाई झस्काएको बताए ।

घटनाका प्रत्यक्षदर्शीसमेत रहेका अर्का स्थानीय रोहित मण्डलले नांगो अवस्थामा आगो बालेर लास जलाउने घाटमा बसेको दृश्यले सबैलाई आश्चर्यचकित पारेको बताए । ‘यो कुनै साधना, ध्यान र तपस्या गरेको हो जस्तो लाग्दैन । किनभने ६ जनाको समूहमा रहेकामध्ये केहीले मात्रै पूरै कपडा लगाएका थिए । निर्वस्त्र हुनेले गरेको हर्कत अपाच्य थियो । तर, पहिलोपटक देखिएको अनौठो दृश्यले स्थानीयस्तरमा विभिन्न खाले जिज्ञासा र चासो उत्पन्न गराएको छ,’ उनले भने ।

उनका अनुसार दाहसंस्कारका लागि प्रयोग हुने चिता बनाउने स्थाननजिकै आगो बालेर त्यसको वरिपरि केही युवाहरू निर्वस्त्र वा अर्धनग्न अवस्थामा उभिएको, बसिरहेको तथा आपसमा कुराकानी र अश्लील शब्द बोल्दै विववाद गरिरहेको जस्तो देखिन्छ । तर, उनीहरू को हुन्, त्यहाँ किन पुगेका थिए र कुन उद्देश्यले त्यसरी बसेका थिए भन्ने विषय भने थाहा हुन नसकेको मण्डलले बताए ।

दृश्यमा रहेका व्यक्तिहरूले कुनै धार्मिक अनुष्ठान, परम्परागत कर्मकाण्ड वा अन्य गतिविधि गरिरहेका हुन् कि भन्ने विषयमा समेत स्पष्ट छैन । सोधीखोजी गर्दा पनि ती युवाहरुले उल्टै दुर्व्यवहार गरेको र स्पष्ट जवाफ नदिएको मण्डलको भनाइ छ । हेर्दा ती युवाहरु मदिरा वा अन्य कुनै वस्तुको नसामा लट्ठ भएर अश्लील हर्कत गरिरहेजस्तो देखिने उनले बताए ।

परोपकार घाट विराटनगरको प्रमुख दाहसंस्कार स्थल हो । सामान्यतया रातिको समयमा त्यहाँ अन्तिम संस्कारबाहेक अन्य गतिविधि कम हुने गरेको स्थानीय बताउँछन् । तर, पछिल्लो घटनाले घाटमा रातको समयमा हुने गतिविधिका बारेमा नयाँ प्रश्नहरू उठाएको छ ।

स्थानीयले सार्वजनिक स्थल तथा दाहसंस्कार स्थलको मर्यादा कायम राख्न सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूले घाटमा रातको समयमा हुने गतिविधिमाथि ध्यान दिनुपर्ने र आवश्यक परे सुरक्षा व्यवस्थासमेत कडा बनाउनुपर्ने बताए ।

भिडियोमा देखिएका कोही पनि व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन । उनीहरूले कुनै आपराधिक वा गैरकानुनी गतिविधि गरेको भन्ने कुरा पनि भिडियोका आधारमा मात्र पुष्टि गर्न सकिने अवस्था छैन ।

केही स्थानीयले भने मसानघाटमा अघोरी उतारेको वा मसान खेलाएको हुनसक्ने अड्कल गरेका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । ‘मसानघाटमा मध्यराति अघोरी (कालो जादु गर्न जानेको व्यक्ति) उतारिन्छ भन्ने सुनेका थियौं । राति मसान पनि खेलाउँछन् भन्ने चर्चा हुन्थ्यो । सुरुमा हेर्दा त त्यही हो कि जस्तो पनि लाग्यो । तर, मातेको अवस्थामा र नांगै रहेका युवाहरुको अश्लील हर्कतले हामी सबैलाई आश्चर्यमा पार्यो,’ स्थानीय भरत कट्टेलले भने, ‘आजसम्म नदेखेको अनौठो दृश्य देखियो । सम्बन्धित निकायले घटनाका बारेमा चासो दिएर वास्तविकता सार्वजनिक गर्नुपर्छ । यस्तो गतिविधिको उद्देश्य र त्यसमा संलग्न व्यक्तिहरूका बारेमा स्पष्ट पार्नुपर्छ ।’

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले नयाँ खालको घटना थाहा भएको बताए । ‘नयाँ र अनौठो घटनाको भिडियो प्राप्त भएको छ । प्रहरीले अनुसन्धान अघि बढाएको छ,’ उनले भने । डीएसपी मिश्रले घटनाको अनुसन्धान अघि बढाएर ती युवाहरुको पहिचान गर्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको जानकारी दिए । युवाहरुको पहिचान गरेर अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनले बताए ।

विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले परोपकार घाटमा रातको समयमा केही समयदेखि गलत हर्कत हुने गरेको जानकारीमा आएको बताए । ‘परोपकार घाटमा केही समयदेखि गलत गतिविधि भइरहेको जानकारीमा आएको छ । त्यस्ता गतिविधिमा संलग्नले अपराध पनि गर्न सक्छन् । घाटमा गलत गतिविधिले निरन्तरता पाएको थाहा हुनसाथ यसअघि नै प्रहरीलाई जानकारी गराइसकिएको छ । घाटको सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने देखिन्छ,’ बस्नेतले भने ।

भिडियाे

तपाइको प्रतिक्रिया
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ
डाक्टर कोइरालाको क्षेत्रमा संस्थापन पक्षकाे हस्तक्षेप, क्षेत्रीय सभापतिको जिम्मेवारी खोसियो
विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
सुनसरीमा डाक्टरले चलाएको कारले दुर्घटना गरायो : प्रहरीका वरिष्ठ सईको मृत्यु, पत्नी घाइते
‘मतभेद सडकमा होइन, छलफलमै टुंग्याउनुपर्छ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.