
अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को महत्वपूर्ण प्रतिस्पर्धामा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरणतर्फको यात्रा थप मजबुत बनाएको छ ।
अमेरिकाको मायामीमा सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक देखिएको ब्राजिलले ३ गोलको सहज जित निकालेको हो । ब्राजिलको जितमा स्टार फरवार्ड विनीसियस जुनियर मुख्य नायक बने । उनले २ गोल गर्दै टोलीको जितको आधार तयार पारे भने माथिअस कुन्हाले १ गोल थप्दै स्कटल्यान्डमाथि दबाब बढाएका थिए ।
खेलको सातौं मिनेटमै विनीसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । सुरुआती गोलपछि पनि ब्राजिलले निरन्तर आक्रमण जारी राख्यो र स्कटल्यान्डलाई दबाबमा राखिरह्यो । पहिलो हाफको इन्जुरी समयमा विनीसियसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को सहज अवस्थामा पुर्याए ।
दोस्रो हाफमा पनि ब्राजिलको नियन्त्रण कायम रह्यो । खेलको ६०औं मिनेटमा माथिअस कुन्हाले गोल गरेपछि ब्राजिल ३–० ले अघि बढ्यो । त्यसपछि स्कटल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि ब्राजिलको संगठित रक्षापंक्ति तोड्न सकेन । बाँकी समयमा थप गोल नभएपछि ब्राजिलले जित आफ्नो नाममा लेखायो ।
यस नतिजासँगै समूह ‘सी’ बाट ब्राजिल र मोरक्को अन्तिम ३२ मा स्थान सुरक्षित गर्न सफल भएका छन् । लगातार प्रभावशाली प्रदर्शन गरिरहेको ब्राजिल उपाधि दाबेदार टोलीका रूपमा अझ मजबुत देखिएको छ ।
उता, स्कटल्यान्डका लागि भने यो हार महँगो सावित भएको छ । गोलअन्तर र अन्य समीकरणमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएपछि उसको अन्तिम ३२ पुग्ने सम्भावना निकै जटिल बनेको छ । अब स्कटल्यान्डले अन्य समूहका नतिजासमेत आफ्नो पक्षमा आउनुपर्ने अवस्था सामना गरिरहेको छ ।



















