
काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले आफ्नो दोस्रो एक दिवसीय अभ्यास खेलमा भारी पराजय व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाली टोली दक्षिण अस्ट्रेलियासँग १३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
दक्षिण अस्ट्रेलियाले दिएको २६० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा मात्र १२१ रनमा समेटियो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
त्यस्तै, मयान यादवले २०, दीपक डुम्रेले १८ र ओपनर अनिल साहले ११ रन जोडे । अन्य ब्याट्सम्यानहरूले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्न दक्षिण अस्ट्रेलियाका तीव्र गतिका बलर स्पेन्सर जोन्सनले ३ विकेट लिए । क्याम्पबेल थम्पसनले २ तथा हेडन शिलर, हानो ज्याकब्स र लाचलान बाङ्सले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । उसको लागि डाउट्जी हुगेनबोजमले सानदार शतकीय इनिङ्स खेले । उनले १२२ बलको सामना गर्दै ४ चौका र ५ छक्काको मद्दतमा १११ रन बनाए ।
त्यस्तै, लाचलान बाङ्सले ४२ र जेर्सिस वाडियाले २९ रनको योगदान दिए । नेपालका लागि बलिङतर्फ राशिद खानले २ विकेट लिए । रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १–१ विकेट लिए ।
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ को यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको थियो । नेपाली टोली अस्ट्रेलियाका स्थानीय क्लब र राज्य टोलीहरूसँग एक्सपोजरका लागि अभ्यास खेल खेल्न त्यहाँ पुगेको हो



















