
एजेन्सी । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन्।
अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजनका साथै विभिन्न विधाका खेलमा पहिलो हाफको १०औँ मिनेटमा ६० सेकेन्ड ताली बजाएर मेसीको राष्ट्रिय टोलीप्रतिको योगदानको सम्मान गरिने जनाएको छ।
एएफएले रंगशालामा ठूलो स्क्रिनको व्यवस्था भएका स्थानमा खेल सुरु हुनुअघि संघको संस्थागत भिडियोसमेत प्रदर्शन गर्न निर्देशन दिएको छ। खेलको १०औँ मिनेटमा गरिने यो विशेष सम्मान मेसीले लामो समय लगाएको चर्चित १० नम्बरको जर्सीप्रति संकेतसमेत हो।
३९ वर्षीय मेसीले गत सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए। सन् २००५ मा सिनियर टोलीबाट डेब्यु गरेका मेसी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
राष्ट्रिय टोलीमा मेसीको सुरुवाती यात्रा भने अपेक्षाअनुसार सुखद हुन सकेन। उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजय बेहोरेका थिए भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हार व्यहोरेका थिए।
तर त्यसपछि मेसीको नेतृत्वमा अर्जेन्टिनाले सफलताको नयाँ अध्याय सुरु गर्यो। सन् २०२१ मा कोपा अमेरिका जित्दै अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय उपाधि दिलाएका मेसीले त्यसको एक वर्षपछि सन् २०२२ को कतार विश्वकपमा टोलीलाई विश्व च्याम्पियन बनाए।
फ्रान्सविरुद्धको विश्वकप फाइनलमा मेसीले दुई गोल गरेका थिए। अतिरिक्त समयपछि खेल ३–३ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि उनले गोल गरे। अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकाल्दै विश्वकपको उपाधि उचालेको थियो।
अर्जेन्टिनाका लागि १९० भन्दा बढी खेल र १०० भन्दा बढी गोल गरेका मेसीको राष्ट्रिय टोलीबाटको यात्रा उपाधि, कीर्तिमान र भावनात्मक क्षणले भरिएको छ। अब उनको सम्मानमा मैदानमै गरिने एक मिनेटको तालीले अर्जेन्टिनेली फुटबलमा मेसीको प्रभाव र योगदानलाई सम्झने विशेष अवसर प्रदान गर्नेछ।

























