
विराटनगर । सुनसरीका २८ वर्षीय रमेश राई (नाम परिवर्तन)को मोबाइल स्क्रिनमा केही महिनाअघि एउटा म्यासेज टल्कियो ।
घरमै बसेर सजिलै पैसा कमाउनुहोस्, प्रति भिडियो लाइक ५० रुपैयाँ । सुरुमा त उनलाई विश्वास लागेन । तर, कौतुहलतावश एउटा भिडियो लाइक गर्दा उनको अकाउन्ट (खाता)मा साँच्चै पैसा आयो । सजिलै पैसा कमाउने यो मधुरो प्रलोभन नै जीवनको सबैभन्दा ठूलो भुल बन्ला भनेर उनले सोचेका पनि थिएनन् ।
भिडियो लाइकबाट सुरु भएको यो यात्रा विस्तारै क्रिप्टो बजारमा लगानी गरी दोब्बर कमाउने आकर्षक टास्कतर्फ मोडियो । जति–जति टास्क थपिँदै गयो, रमेश उति नै गहिरो दलदलमा फस्दै गए । आफ्नै कमाइ र साथीभाइबाट सापट मागेर उनले ४ लाख रुपैयाँ डिजिटल माध्यमबाट पठाए ।
तर, जब आफ्नो सावाँ र नाफा फिर्ता माग्ने बेला आयो । उनी जोडिएको टेलिग्राम च्यानल र त्यो अदृश्य संसार एकाएक गायब भयो । आज रमेशसँग न पैसा छ, न त मनको शान्ति । समाजको डर र लोकलाजका कारण उनी आफ्नो पीडा खुलेर कसैलाई भन्न समेत सकिरहेका छैनन् ।
यो कुनै एउटा रमेशको मात्र कथा होइन । न त यो कुनै चलचित्रको काल्पनिक ‘प्लट’ नै हो । यो त कोशी प्रदेशका कुनाकाप्चासम्म भित्रभित्रै सल्किसकेको डिजिटल ठगीको डरलाग्दो यथार्थ हो । जसले हजारौंको हाँसो लुटेको छ र कयौं परिवारलाई सडकमा पुर्याएको छ ।
कुनै समय थियो, जब ठगहरू तपाईंलाई चिठ्ठा पर्यो वा उपहार आयो भन्दै जालमा पार्थे । तर, समय बदलिएको छ । ठगहरूको शैली पनि परिष्कृत भएको छ । हिजोआज पार्ट–टाइम जब, अनलाइन टास्क, क्रिप्टो लगानी र सस्तो अनलाइन सपिङको आवरणमा डिजिटल ठगीको नयाँ रूप देखा परेको छ ।
विशेष गरी अहिले विश्वकप र खेलकुदको माहोलमा अनलाइन सट्टाबाजी र नक्कली बेटिंग एपहरू युवाहरूलाई सिध्याउने नयाँ हतियार बनेका छन् । सुरुमा सानो रकम जिताएर लोभ देखाउने र पछि मोटो रकम कुम्ल्याएर सम्पर्कविहीन हुने यो धन्दाले युवा पुस्तालाई कानुनी र आर्थिक दुवै जोखिममा धकेलिरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने साइबर अपराधको यो ग्राफ निकै डरलाग्दो छ । कोशीमा वार्षिक रूपमा १ हजार २ सयभन्दा बढी साइबर अपराधका उजुरीहरू दर्ता हुने गरेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए । उनका अनुसार विगत दुई वर्षको तुलनामा यो संख्या झन्डै १४ प्रतिशतले वृद्धि भएको छ ।
चालु वर्षको हालसम्म मात्रै सर्वसाधारणको १५ करोड रुपैयाँ भन्दा बढी रकम डिजिटल ठगहरूले स्वाहा पारिसकेको प्रहरीको अनुमान छ । यो प्रहरीसम्म पुगेका उजुरीहरूको विवरण मात्र हो । लाज र कानुनी झन्झटका कारण लुकाइएका घटनाहरूलाई गन्ने हो भने यो क्षति अझ कति बढी होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
थापाका अनुसार यस्तो ठगीको अनुसन्धान निकै चुनौतीपूर्ण छ । किनकि ठगहरूले नक्कली सिमकार्ड, अरूकै नामको बैंक खाता प्रयोग गर्छन् र देश बाहिरबाट यो सञ्जाल चलाउँछन् । प्रविधिको उज्यालोमा ठगीको अँध्यारो छाया परिदिँदा भित्रभित्रै डिजिटल महामारी सल्किएको र यसबाट सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
डिजिटल साक्षरताको कमी, छिटो धनी बन्ने चाहना र सामाजिक सञ्जालप्रतिको अन्धविश्वासले गर्दा डिजिटल ठगीमा हजारौं मानिस परिरहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए । ‘प्रविधिको प्रयोग कसरी गर्ने भन्ने त हामीले सिक्यौ । तर, यसबाट कसरी जोगिने भन्ने सुरक्षा कवच हामीले लगाउन बिर्सियौं । संसारमा सित्तैमा वा विना मिहिनेत सजिलै पैसा कमाउने कुनै बाटो हुँदैन । यदि कसैले यस्तो अफर गर्छ भने त्यहाँ ठूलो खाल्डो खनिएको छ । त्यो खाल्डोमा परेपछि निस्किन सकिँदैन । सम्पत्ति सबै स्वाहा हुन्छ भन्ने बुझ्नुपर्छ,’ घिमिरेले भने ।
‘प्रविधि आफैंमा अभिशाप नभएर मानव सभ्यताको सुन्दर उपहार हो । तर, प्रयोगमा अलिकति मात्र पनि सावधानी अपनाउन सकिएन भने त्यसले अपराधीहरूलाई घरको ढोका खोलिदिन्छ,’ उनी भन्छन् । कोशी प्रदेशमा बढ्दो डिजिटल महामारीलाई रोक्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उनले बताए । यसका लागि हरेक नागरिकको सचेतता तथा सावधानी, प्रविधिको जिम्मेवार प्रयोग र सजिलै धनी बन्ने भ्रमबाट मुक्ति आवश्यक रहेको डीआईजी घिमिरेको भनाइ छ ।

























