
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहानका राति १ः१५ बजेतिर इटहरी उपमहानगरपालिका–१७ बस्ने शेलिस शेर्पाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकलीबाट टोली खटिएको थियो । प्रहरीले शेर्पाको घरमा तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेर उनीहरूको साथबाट नगद २ लाख ३१ हजार १ सय ७० रुपैयाँ र एक बुक तास बरामद गरेको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, रामधुनी–५ का ४७ वर्षीय गौरीशंकर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्कीलाई पक्राउ गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद बरामद भएको छ ।
तीमध्ये श्रेष्ठको साथबाट सबैभन्दा धेरै १ लाख ४८ हजार ८ सय रुपैयाँ, धामीको साथबाट ७८ हजार ५ सय, कार्कीको साथबाट ३ हजार ५ सय र लुइँटेलको साथबाट ३ सय ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विकको साथबाट भने रकम बरामद भएन ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । उनीहरुमाथि इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर सञ्जीव ओली नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको हो ।

























