
ओखलढुंगा । ओखलढुंगामा बोका खरिदका लागि दिएको रकममध्ये १९ हजार रुपैयाँ नक्कली नोट भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुनकोशी गाउँपालिका–९ मा तीनवटा बोका खरिद गर्ने क्रममा नक्कली नोट दिएको आरोपमा चम्पादेवी गाउँपालिका–४ का २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री पक्राउ परेका हुन् । ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी राजबाबु महर्जनका अनुसार सुनकोशी–९ का हस्तबहादुर तामाङ र वीरबहादुर तामाङको घरमा रहेका तीनवटा बोका खत्रीद्वयले २८ हजार रुपैयाँमा खरिद गरेका थिए ।
बोका किन्दा उनीहरूले दिएको रकममध्ये १९ हजार रुपैयाँ नक्कली नेपाली नोट रहेको खुलेपछि घटना प्रहरीसम्म पुगेको हो । नक्कली नोट भेटिएको सूचना प्राप्त भएपछि प्रहरी चौकी कोषाहाटबाट टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले खत्रीद्वयलाई नियन्त्रणमा लिएर दुईवटा बोका, नक्कली नोट र नगदसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुर लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी महर्जनले बताए ।

























