
विराटनगर । नेपाली जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादनमा पहिचान बनाएको ‘एलो हर्बल’ले स्किन केयरको सफलतापछि अब हेयर केयर (कपालको हेरचाह) क्षेत्रमा प्रवेश गरेको छ । कम्पनीले कपालको प्रकृतिअनुसार तयार पारिएका विभिन्न नयाँ उत्पादनहरूको श्रृंखला इटहरीमा एक विशेष समारोहका बीच सार्वजनिक गरेको हो ।
इटहरीमा आयोजित कार्यक्रममा देशका प्रतिष्ठित कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, ब्युटी एक्सपर्ट तथा व्यावसायिक साझेदारहरूको उपस्थिति थियो । सोही अवसरमा अभिनेत्री तथा मोडल सुरक्षा केसीलाई कम्पनीको आधिकारिक ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरियो । नेपाली सौन्दर्य र प्राकृतिक जीवनशैलीको प्रतिनिधित्व गर्ने भएकाले उनलाई चयन गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एलो हर्बलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेले स्वदेशी जडीबुटीको वैज्ञानिक प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रदान गर्न सकिने बताए । ‘नेपालकै जडीबुटी उपयोग गरेर गुणस्तरीय उत्पादन बनाउन सके आयात प्रतिस्थापन हुनुका साथै देशको अर्थतन्त्र र रोजगारीमा ठुलो टेवा पुग्छ,’ काफ्लेले भने । उनले कम्पनीले सधैँ अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेको समेत स्पष्ट पारे ।
एलो हर्बलको नयाँ हेयर केयर श्रृंखलामा सुक्खा, चिल्लो, ड्यामेज्ड, चाया परेको र सामान्य कपालका लागि छुट्टाछुट्टै उत्पादनहरू उपलब्ध छन् । यसअन्तर्गत स्काल्प सिरम, हेयर मास्क, कन्डिसनर, हेयर सिरम र रिग्रोथ हेयर आयल उपलब्ध छन् ।
प्राकृतिक जडीबुटीको समिश्रणबाट तयार पारिएका यी उत्पादनहरूले नेपाली उपभोक्तालाई सुरक्षित र प्रभावकारी विकल्प दिने कम्पनीको विश्वास छ । स्किन केयरमा स्थापित भइसकेको एलो हर्बलले अब हेयर केयरमार्फत आफ्नो बजार विस्तार गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दीर्घकालीन लक्ष्य लिएको छ ।



















