
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मंगलबारेबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार साँझ करिब ५ः३० बजेतिर मोतीराज लिम्बूको घरमा छापा मार्दा १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगरसहित पक्राउ पर्नेमा पथरीशनिश्चरे–१० का ३३ वर्षीय मोतीराज लिम्बू र रंगेली नगरपालिका–६ का ३३ वर्षीय मिथुन साह रहेका छन् ।
लागुऔषध कारोबार भइरहेको सूचनापछि प्रहरीको संयुक्त टोलीले लिम्बूको घरमा छापा हानेको थियो । घरमा खानतलासी गर्दा ब्राउन सुगर बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पथरीमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























