
काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ । कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालत महोत्तरीको सफाइ दिने फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरेको हो ।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीसहित केही आरोपितलाई सफाइ दिएको थियो । तर, उच्च अदालतले घटनास्थलमा रहेका अन्य आरोपितको बयान र समग्र प्रमाणको मूल्यांकन गर्दै उक्त फैसला संशोधन गरेको हो । कोइरीसँगै लक्ष्मी महतो र पवन कापरलाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाइएको छ ।
यो घटना २०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा महोत्तरीमा भएको थियो । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएका असई थमन विकसहित अन्य सुरक्षाकर्मीलाई उपचारका लागि जलेश्वर हुँदै जनकपुर लैजाँदै गर्दा सनोखडा क्षेत्रमा एम्बुलेन्स रोकिएको थियो । त्यसपछि घाइतेहरू खेतमा लुके पनि आन्दोलनकारीले उनीहरूलाई खोजेर सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट विकको मृत्यु भएको थियो ।
घटनापछि पक्राउ परेका केही आरोपितले कोइरीको समेत संलग्नता रहेको बयान दिएका थिए । मुद्दा दर्ता भएपछि उनी फरार रहेकै अवस्थामा एमाले प्रवेश गरेका थिए । २०७९ सालमा महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । फरार अवस्थामै उनी पटकपटक संसद् बैठकमा सहभागी भएको विषयले व्यापक विवाद पनि निम्त्याएको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि उनी खुला रूपमा संसदीय गतिविधिमा सक्रिय भएका थिए ।
उच्च अदालतले यस प्रकरणमा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ । त्यस्तै, अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको जन्मकैद सजाय संशोधन गर्दै पाँच–पाँच वर्ष कैद कायम गरिएको छ । कोइरीलाई एमालेले गत फागुनमा पनि महोत्तरी–१ बाट उम्मेदवार बनाएको थियो । तर, उनी निर्वाचनमा तेस्रो स्थानमा सीमित भएका थिए ।

























