
एजेन्सी । इजरायलले लेबनान, सिरिया र गाजामा स्थापना गरिएका सुरक्षा क्षेत्रबाट तत्काल आफ्ना सेना फिर्ता नबोलाउने अडान लिएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले सुरक्षा चुनौती कायम रहेसम्म इजरायली सेना फिर्ता नहुने बताए । सन् २००६ को युद्धमा मारिएका इजरायली सैनिकहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै काट्जले लेबनान, सिरिया र गाजाका सुरक्षा क्षेत्रमा इजरायली सेनाको उपस्थितिका लागि कुनै निश्चित समयसीमा नरहेको बताए ।
उनका अनुसार स्थानीय बासिन्दालाई जिहादी समूहबाट जोगाउन ती क्षेत्रमा सेना आवश्यक रहेको दाबी गरिएको छ । काट्जले लेबनानबाट हुने कुनै पनि आक्रमणलाई इजरायलले कडा रूपमा जवाफ दिने चेतावनी पनि दिएका छन् ।
उनले इरानको समर्थन प्राप्त सशस्त्र समूहबाट आक्रमण भए त्यसको प्रतिकार पूर्ण शक्तिका साथ गरिने बताएका छन् । इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा युद्धविरामसम्बन्धी सहमति भए पनि इजरायली नेतृत्वले दक्षिणी लेबनानबाट सेना फिर्ता लिन अस्वीकार गर्दै आएको छ ।
इजरायलले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र भएपछि मात्र सेना फिर्ताको विषयमा विचार गरिने जनाएको छ । गाजामा पनि इजरायली सेनाले ठूलो भू–भाग आफ्नो नियन्त्रणमा राखेको जनाएको छ ।
हमास र इजरायलले एक–अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट हालसम्म हजारौं मानिसको मृत्यु भइसकेको छ भने इजरायलले पनि आफ्ना सैनिक तथा एक नागरिक गुमाएको जनाएको छ ।



















