
विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।
साेमबार जिल्ला अदालत मोरङले उनलाई थुनामुक्त गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
यसपटक उनीमाथि निर्माण व्यवसायीलाई करोडौँ ठगी गरेको र आपराधिक विश्वासघात गरेको गम्भीर आरोप छ ।
सीआईबीका अनुसार ४८ वर्षीय गिरीले निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई विभिन्न सरकारी आयोजनाको ठेक्का मिलाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेका थिए । उनी श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक हुन् । हुलाकी सडककाे कटहरी–हाटखाेला खण्ड ठेक्का लिएकाे थियाे । साे ठेक्का श्रेष्ठबाट गिरीले लिएका थिए । उनले आफ्नो राजनीतिक पहुँच र चिनजानको धाक देखाउँदै ‘आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि.’मार्फत काम गराइदिने विश्वास दिलाएर ठुलो आर्थिक नोक्सानी पुर्याएको प्रहरीको दाबी छ ।
गिरीमाथि निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिएर धनीलाई पत्तै नदिई कवाडीमा बिक्री गरेको समेत अभियोग लागेको छ । उनले अन्य सवारी साधनहरू पनि डर-त्रास देखाई जबरजस्ती आफ्नो नाममा नामसारी गराएका थिए ।
सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार पीडित व्यवसायी श्रेष्ठले अन्य व्यक्तिहरूबाट पाउनुपर्ने रकम समेत गिरीले दबाब दिएर आफ्नै नाममा चेक काट्न लगाई रकम असुल गरेका थिए ।
गिरीलाई यसअघि असार १३ गते विराटनगरस्थित उनकै निवासबाट मोरङ कारागारको भत्ता घोटाला प्रकरणमा पक्राउ गरिएको थियो । उक्त मुद्दामा जिल्ला अदालत मोरङले उनलाई थुनामुक्त गर्ने आदेश दिएको भए पनि काठमाडौं जिल्ला अदालतबाट असार २२ गते नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले सीआईबीले तत्कालै नियन्त्रणमा लिएको हो ।
विराटनगर महानगरपालिका–४, मधुमरा घर भएका गिरी यसअघि पनि पटक-पटक विवादित र आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए । उनीमाथि अहिले ठगी र आपराधिक विश्वासघातको कसूरमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























