
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा विराटनगरका चार जना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ। संस्थाले शनिबार आयोजना हुने स्थापना दिवसको विशेष कार्यक्रममा विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
सहकारीका अनुसार यस वर्षको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलाई प्रदान गरिने भएको छ। उक्त सम्मानको राशि ५१ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, ५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार अर्जुन आचार्यलाई प्रदान गरिने भएको छ।
श्रमजीवी पत्रकारहरूको प्रोत्साहनका लागि स्थापित २१ हजार रुपैयाँ राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पदम सरदारलाई प्रदान गर्ने निर्णय गरिएको छ। साथै, १० हजार रुपैयाँ राशिको ‘दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ रस्मिता उदासलाई प्रदान गरिने सहकारीले जनाएको छ।

























