आत्मदाह गरेका युवाको शव बुझ्न परिवारको इन्कार, शिक्षण अस्पतालमा राखियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०९:५२
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका मुगुका २९ वर्षीय युवा गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन् । राइडसेयर चालकका रूपमा कार्यरत नेपालीले बिहीबार त्रिपुरेश्वरको सडकमा पेट्रोल छर्किएर आत्मदाह को प्रयास गरेका थिए ।

गम्भीर घाइते भएका नेपालीको शुक्रबार दिउँसो वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । तर, सरकार र महानगर प्रहरीको ज्यादतीका कारण उनले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै परिवारले शव बुझ्न नमानेका हुन् । परिवारले यस घटनामा न्याय र उचित छानबिनको माग गरेका छन् ।

परिवारले शव बुझ्न नमानेपछि वीर अस्पतालले शव सुरक्षित राख्नका लागि गए राति नै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पठाएको छ । अस्पताल प्रशासनका अनुसार परिवारले शव नबुझ्दासम्मका लागि शवलाई शिक्षण अस्पतालको फ्रिजमा राखिनेछ ।

मृतक नेपाली केही समयदेखि काठमाडौंमा राइडसेयरिङ (पठाओ–इनड्राइभर) मार्फत गुजारा चलाउँदै आएका थिए । बिहीबार दिउँसो त्रिपुरेश्वरको सडकमा अचानक उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । लगत्तै उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।
यस घटनाले राइडसेयर चालकहरूमाथि हुने प्रहरीको व्यवहार र पछिल्लो समय बढ्दै गएको आर्थिक–सामाजिक मानसिक तनावका बारेमा पुनः गम्भीर बहस सिर्जना गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.