
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता पुनः अघि बढाउन आग्रह गरेको र अमेरिकाले उक्त प्रस्ताव स्वीकार गरेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले युद्धविरामको अवस्था समाप्त भइसकेको उल्लेख गर्दै कूटनीतिक संवादलाई निरन्तरता दिन सहमति भएको जनाएका हुन् । अमेरिकाले दक्षिणी इरानका पाँच प्रान्तका विभिन्न स्थानमा सैन्य कारबाही गरेको छ ।
वासिङ्टनले इरानमाथि जलमार्ग हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । त्यसको प्रत्युत्तरमा इरानी अधिकारीहरूले आफ्नो पूर्वाधारमाथि भएको आक्रमणको जवाफ दिने अधिकार सुरक्षित रहेको बताएका छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कतारका वार्ताकारहरू इरान पुगेर त्यहाँका अधिकारीहरूसँग छलफलमा जुटेका छन् । इरान–अमेरिका सम्बन्ध सुधार र सम्भावित शान्ति समझदारीका प्रयासमा पाकिस्तान प्रमुख मध्यस्थकर्ताको भूमिकामा रहे पनि कतारले समेत सक्रिय सहभागिता जनाएको छ ।
इरान र अमेरिकाबीच यस साताको सुरुतिर तनाव चुलिएका बेला कतारी प्रतिनिधिमण्डल तेहरान पुगेको हो । होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजमाथि आक्रमण भएको घटनापछि अमेरिकाले लगातार दुई रात इरानी भूमिमा सैन्य कारबाही गरेको थियो । कूटनीतिक पहलको उद्देश्य दुवै देशबीचको तनाव कम गर्दै विस्तृत वार्ताका लागि वातावरण तयार पार्नु रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।



















