
एजेन्सी । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकमं)का अनुसार एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडालाई लक्षित गरेर आक्रमण गरिएको हो । अमेरिका–इरान युद्धविराम भंग भएसँगै अमेरिकाले इरानमा सैन्य अखडा लक्षित आक्रमण तीव्र पारेको छ ।
यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ । आईआरजीसीले बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ ।
इरानी समाचार एजेन्सीका अनुसार अमेरिकी हमला जारी रहे होर्मुजको स्थिति सामान्य हुन नसक्ने र यस रुटमा निर्भर धेरै देशले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने इरानले बताएको छ । उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेल–वे पुलमा पनि अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनमा इरानसँगको युद्धविराम सम्झौता अन्त्य भइसकेको र अब इरानसँग कुनै सम्झौता नगर्ने बताएका छन् । तर, अमेरिकी अधिकारीहरूले कूटनीतिक समाधान खोज्ने प्रयासस्वरूप प्राविधिक स्तरको वार्ता अझै जारी रहेको दाबी गरेका छन् । कतार र पाकिस्तान जस्ता देशले मध्यस्थताको प्रयास गरिरहेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि धम्कीको माहोलमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता नहुने स्पष्ट पार्दै अमेरिकाले पुराना सम्झौताहरूको सम्मान गर्नुपर्ने बताएका छन् । तनावका बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको बिहीबार मशहद सहरस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ ।
डेढ करोडभन्दा बढी मानिस सहभागी भएको भनिएको सात दिने अन्तिम बिदाइ कार्यक्रम युद्धको त्रासकै बीच सम्पन्न भएको हो । बिहीबार इरानको बुशहर आणविक केन्द्र नजिकैलगायत दक्षिणी क्षेत्रमा विस्फोटका आवाज सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ हमला आफूहरूले नगरेको स्पष्ट पारेका छन् ।
अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट ८०० भन्दा बढी व्यापारिक जहाज सुरक्षित रूपमा पठाइएको जनाएको छ । कतार र यूएईले कुवेत र बहराइनमाथि इरानले गरेको मिसाइल हमलाको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन् । त्यस्तै, जोर्डनले आफ्नो आकाशमा आएका इरानी मिसाइल नष्ट गरिएको दाबी गरेको छ ।

























