
विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ । शुक्रबार कोलकाताबाट प्रस्थान गरेको कच्चा पदार्थ बोकेको रेल सोमबार बिहानसम्म विराटनगर आइपुग्ने छ ।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालको व्यापार र उद्योग क्षेत्रमा नयाँ अध्याय सुरु भएको मानिएको छ । पूर्वका उद्योग–व्यवसायीले राहत महसुस गर्नेछन् ।
पहिलो चरणमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको रेल विराटनगर आउँदैछ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ । जसले ढुवानीको अवस्थालाई निरन्तर निगरानी गर्न तथा सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्नेछ ।
कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका हुन् । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार कोलकाताबाट छुटेको रेल सोमबारसम्म विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ । सेवा नियमित सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले आयात प्रक्रियामा समय र लागत दुवै बचत गर्न सक्ने उनको भनाइ छ ।
यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवाको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन । २०८० जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो । पछिल्लो नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रेलमार्फत माल सामान ढुवानी गर्ने बाटो खुलेको हो ।
भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले २०२५ नोभेम्बर ४ मा ईसीटीएस सम्बन्धी नियम संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो । त्यसपछि कोलकाता भन्सारले २०२६ फेब्रुअरी २६ मा जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरसम्म रेलमार्फत मालसामान ल्याउने प्रक्रियागत व्यवस्था लागू गरिएको थियो ।
पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ । यसअघि यस्तो सुविधा मुख्यतः वीरगञ्ज नाकासम्म सीमित थियो ।
रेलमार्फत ढुवानी सुरु भएपछि सडकमार्गमा निर्भरता घट्ने, बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन तथा बिलम्ब शुल्क कम हुने, ढुवानी खर्च घट्ने र सामान छिटो गन्तव्यमा पुग्ने बताइएको छ । यसबाट पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात र समग्र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

























