
काठमाडौं । गत आर्थिक वर्ष नेपालमा करिब ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिए छ । भन्सार विभागकाे तथ्यांक अनुसार २०८२/८३ मा नेपालमा २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात भएकाे छ । ति फाेनका लागि ४८ अर्ब ६९ करोड ३४ लाख बाहिरिएको छ ।
सरकारले स्मार्टफोन आयातबाट ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात भएकाे थियाे ।आयात मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख छ । त्यसबाट ६ अर्ब ६२ करोड ७६ लाख बराबर राजस्व संकलन गरेको थियो ।
नेपालको मोबाइल बजारमा चीन र भारतको उत्पादनकाे पकड धेरै छ ।
गत वर्ष आयात भएका कुल स्मार्टफोनमध्ये सबैभन्दा धेरै चीनबाट भित्रिएका छन् । तथ्यांक अनुसार चीनबाट मात्रै ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँ बराबरका १८ लाख ८९ हजार ६ सय ६४ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । भारतबाट १० अर्ब ९९ करोड ६ लाख रुपैयाँ बराबरका ३ लाख ६४ हजार ८ सय ४२ थान स्मार्टफोन आयात भएको छ ।
नेपालमा अमेरिका, अस्ट्रेलिया, जापान, यूएई, दक्षिण कोरियालगायत देशबाट स्मार्टफोन भित्रिएका छन् ।



















