जलनको उपचार अब विराटनगरमै, नोबेलमा कोशीकै पहिलो बर्न युनिट सञ्चालन

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १६:५३

विराटनगर । कोशी प्रदेशमा आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट गम्भीर रूपमा जलेका बिरामीले अब उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने भएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोशी प्रदेशकै पहिलो अत्याधुनिक बर्न युनिट बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नोबेल अस्पतालमा आयोजित कार्यक्रममा युनिटको उद्घाटन गरिएको हो । वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईको उपस्थितिमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले बर्न युनिटको उद्घाटन गरेका हुन् ।

अस्पतालले आगलागी तथा अन्य कारणले जलेका बिरामीलाई प्रभावकारी, सुरक्षित र विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले तत्कालका लागि तीन शय्याको अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याइएको जनाएको छ । सेवालाई केही समयमै विस्तार गरेर थप प्रभावकारी बनाउने अस्पतालको योजना छ । प्रादेशिक तथा संघीय अस्पतालमा बर्न उपचार सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार सेवा सुरु गरिएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।

उनका अनुसार यसअघि गम्भीर रूपमा जलेका बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत पठाउनुपर्ने अवस्था थियो । अब भने विराटनगरमै विशेषज्ञ सेवा उपलब्ध हुने भएकाले उपचारमा ढिलाइ नहुने, बिरामीको ज्यान जोगाउने सम्भावना बढ्ने र परिवारमाथिको आर्थिक तथा मानसिक भार पनि घट्ने विश्वास गरिएको राईको भनाइ छ ।

प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका प्रमुख तथा कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. अजय ढकालको नेतृत्वमा बर्न युनिट सञ्चालन हुनेछ । युनिटमा जलनका गम्भीर ट्रमा बिरामीको उपचार, जटिल स्किन ग्राफ्टिङ, घाउ व्यवस्थापन, संक्रमण नियन्त्रण तथा आवश्यक शल्यक्रिया सेवा २४ सै घण्टा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

प्लास्टिक सर्जन डा. ढकालका अनुसार जलनका बिरामीको उपचारमा सुरुआती केही घण्टा अत्यन्तै महत्वपूर्ण हुन्छ । शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेका बिरामीलाई जटिल अवस्थामा राखिने भएकाले विशेष बर्न युनिटमै उपचार आवश्यक पर्ने उनले बताए । समयमै उपचार, संक्रमण नियन्त्रण, विशेष ड्रेसिङ, आवश्यक परे स्किन ग्राफ्टिङ तथा प्लास्टिक एवं पुनर्निर्माण शल्यक्रियाले बिरामीको ज्यान बचाउने सम्भावना बढाउनुका साथै भविष्यमा हुने अपांगता र अन्य दीर्घकालीन जटिलता पनि कम गर्न मद्दत गर्ने डा. ढकालले बताए ।

अस्पतालका सञ्चालक डा. सुनील शर्माका अनुसार बर्न युनिट सञ्चालनसँगै कोशी प्रदेश तथा पूर्वी नेपालका जलनका गम्भीर बिरामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार विराटनगरमै पाउनेछन् । अत्याधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र प्रशिक्षित स्वास्थ्यकर्मीको टोलीमार्फत सेवा प्रवाह गरिने भएकाले प्रदेशको स्वास्थ्य सेवामा यो महत्वपूर्ण उपलब्धि मानिएको उनले बताए ।

डा. शर्माले बिरामीलाई समयमै, सुरक्षित र प्रभावकारी उपचार उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै बर्न सेवालाई अझ सुदृढ बनाउँदै लगिने जानकारी दिए । सेवा विस्तारको काम पनि तत्काल गरिने उनको भनाइ छ । नोबेल अस्पतालले लामो समयदेखि आर्थिक रूपमा विपन्न बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

नोबेल अस्पतालमा बर्न युनिट सञ्चालनसँगै कोशी प्रदेशमा जलन उपचार सेवाले नयाँ आयाम पाएको सरोकारवालाहरु बताउँछन् । अब गम्भीर जलनका बिरामीले आफ्नै प्रदेशमा विशेषज्ञ उपचार पाउने वातावरण बनेको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×