कांग्रेसमा नेतृत्व छान्न उम्मेदवार मैदानमा उत्रिँदै

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०७:२९
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ । सभापतिदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीहरूले पार्टीको नयाँ कार्यसमितिमा आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन् ।

केन्द्रीय निर्वाचन समितिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनका लागि समय निर्धारण गरेको छ । मनोनयन दर्तापछि अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । त्यसपछि उम्मेदवारीमाथि दाबी–विरोधको प्रक्रिया अघि बढ्नेछ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार उम्मेदवारीमाथि दाबी–विरोधका लागि अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्मको समय तोकिएको छ । सो प्रक्रिया पूरा भएपछि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारले असोज २१ गते बुधबार बिहान ९ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन बिहान १० बजे अन्तिम उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । त्यसपछि दिनभर उम्मेदवारलाई प्रचारप्रसारको समय दिइएको छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि असोज २२ गते बिहीबार मतदान हुनेछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ ।

मतदानका लागि काठमाडौंका राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरलाई प्रयोग गरिने भएको छ । बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा–प्रतिष्ठानमा मतदान गर्नेछन् ।

कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र रहनेछ । भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि खुलामञ्चबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।

यसपटकको कांग्रेस निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । एक पदाधिकारीका अनुसार मतदान परम्परागत मतपत्रबाटै गरिनेछ ।

महाधिवेशनबाट संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् । उपसभापति र महामन्त्रीमा महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूमध्येबाट चयन गरिनेछ । प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि विधानमा गरिएको छ ।

केन्द्रीय सदस्यतर्फ विभिन्न समावेशी समूहका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ । खुला तथा महिला खुलासहित प्रदेश, दलित, जनजाति, खस–आर्य, मधेसी, थारू, पिछडिएको वर्ग, श्रमिक, पेशागत विज्ञ, अपांगता भएका व्यक्ति र प्रजातन्त्र सेनानीका लागि प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवालाई केन्द्रीय समितिमा समेट्ने व्यवस्था पनि गरिएको छ । विधानअनुसार केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्नेछ ।

मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धाको औपचारिक चरण सुरु हुँदैछ । सभापति, उपसभापति, महामन्त्रीलगायत पदमा आकांक्षीहरूको संख्या र समूहगत समीकरणले महाधिवेशनको निर्वाचनलाई थप रोचक बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×