देवानगन्ज घटनापछि सीमामा ‘हाइ अलर्ट’, आईडी कार्डबिना नेपाल प्रवेशमा रोक

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १४:१७

विराटनगर । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने समूह, हातहतियार तथा लागुऔषध ओसारपसारको जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको हो । अब भारतबाट नेपाल प्रवेश गर्न आउने व्यक्तिले परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ । वैध परिचयपत्र भएका व्यक्तिलाई मात्र नेपाल प्रवेश गर्न दिइने सुरक्षा निकायले जनाएका छन् ।

कोशी प्रदेश सरकारले देवानगन्ज घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति व्यवस्थाको समीक्षा गर्न विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार सर्वपक्षीय बैठक बोलाएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षामा बसेको बैठकमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा पारिएको जानकारी दिए ।

उनका अनुसार घटनालाई अवसर बनाएर बाह्य तत्वको घुसपैठ, हातहतियार तथा लागुऔषधको अवैध कारोबार बढ्न सक्ने जोखिम रहेकाले भारतसँग जोडिएका सीमा नाकामा अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ । उनले मधेश प्रदेशबाट समेत थप प्रहरी जनशक्ति सुनसरीमा परिचालन गरिएको जानकारी दिए । कोशीका पहाडी लगायत अन्यत्र जिल्लाबाट पनि सुरक्षाकर्मी झिकाएर सुनसरी केन्द्रित गरिएको छ ।

यस्तै, बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भारतबाट धार्मिक संघ–संगठनको नाममा केही समूह नेपाल प्रवेश गर्न सक्ने सूचना प्राप्त भएकाले मोरङका सीमा नाकामा सुरक्षा निगरानी कडा बनाइएको बताए । उनले परिचयपत्र भएका व्यक्तिलाई मात्र नेपाल प्रवेश गर्न दिइने र शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिएको स्पष्ट पारे । ‘देवानगन्ज घटनापछि सीमामा सुरक्षा निकाय ‘हाइ अलर्ट’मा छ । आईडी कार्डबिना प्रवेशमा रोक लगाइएको छ,’ प्रजिअ कटेलले भने ।

गत आइतबार राति सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा गोली लागेर नौ जना घाइते भएका थिए भने सुरक्षाकर्मीसहित घाइतेको संख्या २२ भन्दा बढी पुगेको छ ।

उक्त घटनापछि सुनसरीसहित विभिन्न स्थानमा विरोध प्रदर्शन, आगजनी, तोडफोड, आक्रमण, लुटपाट तथा सवारीसाधन सञ्चालनमा अवरोधजस्ता घटना भएका छन् । सोमबारदेखि सुनसरीको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि प्रशासन र सुरक्षा निकायले सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै सीमा क्षेत्रदेखि जिल्लाभित्रसम्म उच्च सतर्कता अपनाएका हुन् ।

सर्वपक्षीय बैठकमा सहभागी पक्षहरूले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय समुदाय, धार्मिक अगुवा र नागरिक समाजलाई संयमता अपनाउन आग्रह गर्दै अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×