
काठमाडौं । नेपाली चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि रहेर काम गर्दै आएका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। थ्रिलर विधाको यस चलचित्रको रहस्यमयी थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो।
सौगातको यो पहिलो निर्देशकीय प्रोजेक्ट भए पनि उनले दीपेन्द्र के. खनाललगायतका निर्देशकसँग मुख्य सहायक निर्देशक र कार्यकारी निर्माताका रूपमा काम गरिसकेका छन्।
सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटर, त्रिशूल, दुई नाग, शब्दलाई घेर्ने पाँच वटा घेरा, नाग अंकित रहस्यमयी लकेट र शुक्ल पक्षको अर्धचन्द्र समावेश छ। पोस्टरमा राखिएका यी तत्त्वहरू पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको र चलचित्र हेरेपछि मात्र यसको रहस्य खुल्ने निर्देशक बस्नेतले बताए। पोस्टरमा ‘आई हेट हु एभर कमस् लेट’ भन्ने पङ्क्ति पनि उल्लेख छ, जसको सन्दर्भ अझै रहस्यमै राखिएको छ।
यो एक ‘साइकोलोजिकल मिस्ट्री थ्रिलर’ चलचित्र हुने र पोस्टरमा देखिएका तत्त्वहरूले कथालाई पूर्ण रूपमा स्पष्ट पार्ने निर्देशक बस्नेतको भनाइ छ। ‘पञ्चमी’ कुनै मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण भए पनि कुन उपन्यास र लेखकको कृतिमा आधारित छ भन्ने कुरा भने अहिले खुलाइएको छैन।
चलचित्रका कलाकार, पटकथा लेखक तथा प्राविधिक टोलीबारे पनि हाल जानकारी सार्वजनिक गरिएको छैन। आगामी दिनमा बिस्तारै टोलीका सदस्यहरू र चलचित्रको झलक सार्वजनिक गर्दै जाने निर्माण पक्षले जनाएको छ।

























