कप्तानगन्ज गोलीकाण्ड : घाइतेको शरीरबाट निकालियो गोली, फरेन्सिक परीक्षणबाट खुल्नेछ रहस्य

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ श्रावण १४, बिहीबार १९:१७
सांकेतिक तस्बिर : एआई

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेहरूको शरीरबाट निकालिएको गोली तथा गोलीका अंश फरेन्सिक परीक्षणका लागि पठाउने तयारी गरिएको छ ।

उपचारका क्रममा संकलन गरिएका गोली र धातुका अंश कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाअन्तर्गत फरेन्सिक ब्यालेस्टिक्स परीक्षण शाखामा पठाइने भएको हो । फरेन्सिक परीक्षणबाट गोली कसले चलाएको हो भन्ने रहस्य खुल्ने छ ।

Advertisement

गत आइतबार राति दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका देवानगन्ज–४ का ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो भने अर्का घाइते देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

घटनामा १० जना स्थानीय युवा गोली लागेर घाइते भएका थिए । दुई जनाको मृत्यु भइसकेको छ भने आठ जनाको उपचार जारी छ । प्रहरीका अनुसार घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

घाइतेमध्ये तीन जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ ।

नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको बायाँ हात र कोखामा गोली लागेको थियो । चिकित्सकले सोमबार शल्यक्रिया गरेर कोखाबाट गोली निकालेका छन् । उनको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको छ ।

न्युरो अस्पतालमा उपचाररत देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । शल्यक्रियाका क्रममा शरीरभित्र गोलीको अंश हुनसक्ने धातु फेला परेको अस्पतालले जनाएको छ ।

त्यस्तै, देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँबाट पनि शल्यक्रियाका क्रममा गोलीको अंशजस्तो धातु निकालिएको छ । मिथिलेश आईसीयूमा उपचाररत छन् भने अमलेशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विराट नर्सिङ होममा उपचाररत देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेको छ । एक्स–रेमा शरीरभित्र धातुजस्तो वस्तु देखिए पनि उनको अवस्था गम्भीर रहेकाले थप शल्यक्रिया गरेर निकाल्न बाँकी रहेको चिकित्सकहरूले बताएका छन् ।

प्रहरीका अनुसार उपचाररत अन्य घाइतेहरूको शल्यक्रिया सम्पन्न भए पनि उनीहरूको शरीरमा गोली वा गोलीका अवशेष फेला परेका छैनन् । देवानगन्ज–४ का २२ वर्षीय हरेराम यादव, देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता तथा देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादवको शरीरबाट गोली वा त्यसका अंश भेटिएको छैन । यस्तै, देवानगन्ज–४ का २६ वर्षीय सुनील मेहताको बायाँ कुहिनामा गोली लागेको भए पनि उनको शल्यक्रिया हुन बाँकी छ । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार हालसम्म तीन जनाको शरीरबाट गोली र गोलीका अंश निकालिएको छ । ती सबै प्रमाणलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने तयारी भइरहेको उनले बताए ।

घटनापछि गोली कसले चलायो भन्ने विषयमा स्थानीय तहमा विभिन्न आशंका व्यक्त भइरहेका छन् । केही स्थानीयले सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिले पनि गोली चलाएको हुनसक्ने दाबी गरेका छन् ।

तर, सुरक्षा स्रोतका अनुसार घाइतेको शरीरबाट निकालिएको गोलीको प्रारम्भिक अध्ययनले त्यसको स्वरूप सशस्त्र प्रहरीले प्रयोग गर्ने एसएलआर हतियारसँग मेल खाने देखिएको छ । यद्यपि, अन्तिम निष्कर्ष भने फरेन्सिक ब्यालेस्टिक्स परीक्षणपछि मात्रै आउने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार फरेन्सिक ब्यालेस्टिक्स परीक्षणबाट गोलीको क्यालिबर, कुन हतियारबाट प्रहार भएको हो, गोलीको दिशा, दूरी तथा हतियारसँगको सम्बन्ध यकिन गर्न सकिन्छ । परीक्षण प्रतिवेदनले घटनाको अनुसन्धानलाई वैज्ञानिक आधार दिने र त्यो नै अदालतमा महत्वपूर्ण भौतिक प्रमाणका रूपमा प्रयोग हुने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी
कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×