शुद्धोधनका उपाध्यक्ष र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ०९:५०
शुद्धोधनका उपाध्यक्ष र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । न्यायिक असमानता हटाउने नारा बोकेको बजेट आफ्नै बैंक खातामा भेटिएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी भ्रष्टाचारको चक्रव्यूहमा फसेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष चौधरी र गाउँपालिकाका तत्कालीन ‘एमआइएस अपरेटर’ सुरेश कँहारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७९ र ८० मा शुद्धोधन गाउँपालिकाले ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ स्वीकृत गरेको थियो । सोही कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी तत्कालीन एमआइएस अपरेटर कँहारलाई दिइयो । कँहारले कार्यक्रम सञ्चालनका नाममा गाउँपालिकाबाट ६ लाख रुपैयाँ पेस्की लिएका थिए । तर, कार्यक्रमका लागि निकालिएको सो पेस्की रकम कार्यक्रममा खर्च हुनुको साटो खातामा आउनासाथ ५ लाख रुपैयाँ सीधै उपाध्यक्ष चौधरीको निजी बैंक खातामा जम्मा गरिएको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

अख्तियारका अनुसार यो रकम केवल सरकारी बजेटको दुरुपयोग मात्र नभई ‘जागिर लगाइदिने’ प्रलोभन देखाई लिइएको घुस समेत रहेको खुलेको छ । उजुरी परेपछि अनुसन्धान थालेको अख्तियारले उपाध्यक्षको बैंक खातामा रकम जम्मा भएको प्रमाण फेला पारेको थियो ।

अख्तियारको आरोप पत्रमा उल्लेख भएअनुसार, उपाध्यक्ष चौधरी र कर्मचारी कँहारबीच पूर्वयोजना र आपसी मिलेमतोमै सरकारी रकम हिनामिना गरिएको हो । लक्षित वर्ग र समुदायका लागि विनियोजित कार्यक्रमको रकमलाई कामै नगरी घुस र रिसवतका रूपमा लिने–दिने कार्य भएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले दुवै प्रतिवादीविरुद्ध जनही ५ लाख रुपैयाँ बिगो कायम गरेको छ । उनीहरू विरुद्ध रु पाँच लाख बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा घुसस्वरुप लिइएको रकम जफतको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×