धरानमा ३० लाखको चोरी, दम्पतीसहित ३ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ११:२८

धरान । धरान उपमहानगरपालिका–११ स्थित सुनसरी टेक्निकल कलेज अगाडि बस्ने राजु साहको घरबाट ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

साहको घरको माथिल्लो तलाको कोठामा कोही नभएको मौका छोपी १० तोला सुन र नगद ४ लाख रुपैयाँ गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक बिनालाल साह तेलिको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

Advertisement

प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा धरान उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय सुमित बराइली, उनकी २१ वर्षीया श्रीमती सम्झना बराइली र धरान–९ बस्ने १६ वर्षीय मनिष विकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूको साथबाट नगद ४४ हजार ४६३ रुपैयाँ, विभिन्न चाँदीका गहना (पाउजु ३ जोर, झुम्का ५ जोर, बिछु ५ थान, बाला १ जोर, हातमा लगाउने पञ्जा १ जोर, दुनिया चाँदी ३ प्याकेट) तथा सुनका गहना (नेक्लेस हार १ थान, सिक्री लकेट १ थान, मङ्गलसूत्र १ थान, कानको झुम्का १ जोर, टप १ जोर, ठोसा १ थान, औँठी १ थान र सुनको सिक्का १ थान) बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय धरानबाट करिब २ किलोमिटर पूर्व पर्छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.