
काठमाडौं । थाइल्यान्डबाट तस्करी गरी नेपाल ल्याइएको ११ केजी लागुऔषध गाँजासहित प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको विशेष सुरक्षा जाँच र यात्रुहरूको ‘प्रोफाइलिङ’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सिएक्स ६०२ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकको झोला खानतलासी गर्दा सो परिमाणको गाँजा फेला परेको थियो । पक्राउ पर्नेमा भारतको पन्जाब लुधियानाका ३० वर्षीय सोनी र २३ वर्षीय जगरूप सिंह रहेका छन् ।
प्रहरीले उनीहरूलाई पछ्याउँदै जाँदा सो गाँजा बुझ्न विमानस्थल पुगेका अर्का एक भारतीय नागरिक हरियाणाको कैथलका २२ वर्षीय साहिललाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ११ केजी गाँजा, ३ थान राहदानी (पासपोर्ट) र ३ थान मोबाइल फोन बरामद गरेको छ ।
थाइल्यान्डबाट लुकाई छिपाइ ल्याइएको उक्त लागुऔषध कसका लागि र कहाँ लैजान लागिएको थियो भन्नेबारे ब्युरोले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























