नेपालमा डेंगु संक्रमण तीव्र: कोशी र गण्डकी प्रदेश उच्च जोखिममा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ०९:३१
नेपालमा डेंगु संक्रमण तीव्र: कोशी र गण्डकी प्रदेश उच्च जोखिममा

काठमाडौं । नेपालमा डेंगु संक्रमणको जोखिम पुनः तीव्र रूपमा बढ्न थालेको छ । स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ सम्म देशभरका ७२ जिल्लाबाट २०२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसुन सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५६८ जना र गण्डकी प्रदेशमा ५३२ जना संक्रमित भेटिएका छन् । जिल्लागत आधारमा सबैभन्दा बढी प्रभावित झापा २०४ जना, बागलुङ १८० जना, सुनसरी १६१ जना, पाल्पा ११६ जना र कास्की ११ जना संक्रमति भएका छन् ।

Advertisement

वर्षातको समय र वर्षा पश्चातको अवधिमा लामखुट्टेको वंश वृद्धि तीव्र हुने भएकाले डेंगुको संक्रमण अझै बढ्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले साउन, भदौ, असोजमा ‘डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालनमा ल्याएको छ ।

महाशाखाले डेंगु धेरै प्रभावित भएका जिल्ला तथा स्थानीय तहहरूमा अवस्थाको नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देश निरन्तर पठाइरहेको जनाएको छ । यो तीन महिने अभियानमार्फत डेंगु सार्ने ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने कार्यलाई तीव्र बनाउने र समुदायस्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.