
काठमाडौं । सेयर बजारमा मङ्गलबार दोहोरो अङ्कको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २१ दशमलव १५ अङ्कले घटेर २६६३ दशमलव १८ विन्दुमा झरेको छ।
बजार खुलेसँगै उतारचढावका बिच बिक्री चाप बढेकाले नेप्से ओरालो लागेको हो। आज ३४३ कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २ सय ७२ पटक किनबेच हुँदा ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो।
घटाइका कारण समग्र बजार राताम्मे बनेको छ। कारोबार भएकामध्ये २१३ कम्पनीको सेयर मूल्य घट्यो भने ५९ कम्पनीको मात्र मूल्य बढ्यो। ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बजार घटे पनि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले कमाए। सो कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिसेयर १७३१ दशमलव ४० रुपैयाँ पुग्यो। खानीखोला हाइड्रोको १० दशमलव०७ प्रतिशत र जोशी हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव २६ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी कारोबार खानीखोला हाइड्रोको भयो। सो कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद-बिक्री भएको छ। सिद्धार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाइड्रोपावरको १६ करोड ५७ लाख र सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख रुपैयाँको कारोबार भयो। मङ्गलबारको गिरावटसँगै कुल बजार पूँजीकरण ४५ खर्ब ७६ अर्ब रुपैयाँमा सीमित भएको छ।

























