
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक उडानको भाडासमेत बढेको छ। निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएर २९० रुपैयाँ पुर्याएपछि भाडा वृद्धि भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई पठाएसँगै बढेको भाडादर कार्यान्वयनमा आएको छ। प्राधिकरणका अनुसार काठमाडौँबाट धनगढी रुटमा यसअघि १० हजार १२० रुपैयाँ रहेको ‘फ्यूल सरचार्ज’ बढेर ११ हजार रुपैयाँ पुगेको छ। यससँगै धनगढी जाने टिकटको मूल्य ८८० रुपैयाँले बढेको छ।
सबैभन्दा बढी विराटनगर–धनगढी रुटमा १ हजार २९०, नेपालगञ्ज–भद्रपुर रुटमा १ हजार १७० र जनकपुर–धनगढी रुटमा १ हजार १०० रुपैयाँले भाडा वृद्धि भएको छ। यस्तै पोखरा–भद्रपुर रुटमा ८१०, पोखरा–धनगढीमा ६८५ र पोखरा–जनकपुरमा ५२५ रुपैयाँले भाडा बढेको छ।
काठमाडौँबाट हुने उडानतर्फ माउन्टेन फ्लाइटमा ६८५, भद्रपुरमा ६०५, विराटनगरमा ४८०, पोखरामा ३१५, भैरहवामा ४१०, नेपालगञ्जमा ६५५, तुम्लिङटारमा ३७०, जनकपुरमा २६०, सिमरामा १८० र भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको प्राधिकरणले जनाएको छ।



















