
काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा विकास अर्थशास्त्री याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्याबको नियुक्तिबारे जानकारी दिएका हुन् ।
को हुन् उक्याब ?
काठमाडौं निवासी याङ्की उक्याब विकास अर्थशास्त्रको क्षेत्रमा लामो अनुभव सँगालेकी विशेषज्ञ हुन् । उनले यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरिसकेकी छन् । उनी विशेष गरी सार्वजनिक नीति, दिगो विकास, जलवायु परिवर्तन, आर्थिक विकास तथा लगानीका विषयमा दख्खल राख्ने विज्ञका रूपमा परिचित छिन् ।
अन्तर्राष्ट्रियस्तरमा समेत अनुभव सँगालेकी उक्याबले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रूपमा काम गरेकी थिइन् । त्यसअघि उनले युएनडिपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा समेत सेवा पुर्याएकी थिइन् ।
लगानी बोर्डको सिइओ छनोटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा एउटा सिफारिस समिति गठन गरिएको थियो । सो समितिले योग्यता र अनुभवका आधारमा याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीन जनाको सूचीमध्येबाट मन्त्रिपरिषद्ले उक्याबलाई बोर्डको नेतृत्व सम्हाल्ने गरी नियुक्त गरेको हो ।

























