आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १३:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रका जनशक्तिको समस्या समाधान र वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै कार्कीले विशेष गरी आवासीय (इन्टर्न) चिकित्सकहरूको श्रम शोषण भइरहेको भन्दै सरकारको आलोचना गरिन्।

वर्षौंदेखि जनशक्ति अभावको रटान लगाइए पनि ग्रामीण क्षेत्रमा चिकित्सक पुर्‍याउने ठोस रणनीति बनाउन सरकार चुकेको उनको भनाइ छ। संघीय सरकारले मात्र चाहेर सुधार सम्भव नहुने भन्दै उनले तीनै तहका सरकारबिच समन्वय हुनुपर्नेमा जोड दिइन्। विशेष गरी प्रदेश मातहतका जिल्ला र आधारभूत अस्पतालहरूको अवस्था नाजुक रहेको उनले बताइन्।

Advertisement

चिकित्सकहरू आमरण अनसन बस्नुपर्ने परिस्थिति सिर्जना हुनु विडम्बनापूर्ण रहेको उल्लेख गर्दै सांसद कार्कीले शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले ८० दिनअघि बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरिन्। उक्त प्रतिवेदनले इन्टर्न चिकित्सकलाई आठौँ तहका चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत रकम उपलब्ध गराउन सिफारिस गरेको छ।

करियरको सुरुवाती चरणमा रहेका चिकित्सकहरू पर्याप्त निर्वाह भत्ता, तोकिएको ड्युटी आवर र न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित हुनुपर्ने अवस्थाले समग्र स्वास्थ्य क्षेत्रलाई नै गिज्याइरहेको उनले बताइन्। भोक र निद्रा नभनी खटिनुपर्दा चिकित्सकको सिकाइ र कार्यक्षमतामा असर परेको भन्दै उनले कार्यदलको सुझाव कार्यान्वयन गर्न मन्त्रालय र सरोकारवाला निकायसँग आग्रह गरिन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×