
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्की पार्टीबाट अलग भएका छन्। पार्टी औपचारिक रूपमा विभाजन भएपछि कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत अलग भएको घोषणा गरे।
पार्टीमा सुरुदेखि नै आफू कुनै कार्यकारी पदमा नरहेको स्पष्ट पार्दै उनले युवाहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ मा अनुबन्धित रहने बताए। प्रलोपामा रहँदा साथीहरूले गरेको न्यानो व्यवहारलाई सदा सम्झिरहने उनले उल्लेख गरे।
बुधबार प्रलोपाबाट साबिकको नयाँ शक्ति समूह सहमतिमै अलग भएको थियो। प्रलोपामा आएका अधिकांश नेता संसदीय जडतामा फसेका पार्टीहरूबाट भर्खरै बाहिरिएकाले छोटो समयमै विभाजनको स्थिति आएको कार्कीले बताए। सुरुआतमै निर्वाचनतर्फ नलागेर प्रगतिशील अभियानतर्फ लागेको भए परिणाम फरक हुने उनको भनाइ छ।
पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित बनेको प्रलोपा निर्वाचनको भुमरीमा परेपछि वैचारिक अडानमा कायम रहन नसकेको कार्कीले उल्लेख गरे। नेताहरूको एउटा समूहले एउटा पुरानो दल र अर्को समूहले अर्को पुरानो दलसँग हातेमालो गर्दा वैचारिक रूपमा पहिले नै विघटित पार्टी अहिले सङ्गठनात्मक रूपमा पनि विभाजित भएको उनले बताए। सौहार्दपूर्ण तरिकाले अलग भएको भन्दै उनले दुवै समूहलाई शुभकामना दिए।
गत फागुनको प्रतिनिधिसभा निर्वाचनअघि कार्की नेकपा माओवादी केन्द्रबाट अलग भएका थिए। मङ्सिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेसपा (नयाँ शक्ति) र रास्वपाबाट अलग भएको सन्तोष परियार समूह मिलेर प्रलोपा गठन भएको थियो।

























