विद्यालयमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १२:४१

एजेन्सी। थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा शुक्रबार विद्यार्थीले गोली चलाउँदा आक्रमणकारीसहित कम्तीमा ७ जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएका छन्।

राष्ट्रिय प्रहरीका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल त्रिरोङ फोफानका अनुसार बैंककको उत्तर पश्चिमी बाहिरी क्षेत्रमा पर्ने नोनथाबुरी प्रान्तको बाङ क्रुआई जिल्लास्थित देब्सिरिन नोनथाबुरी विद्यालयमा गोली चलेको हो। प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि घटनामा मारिएका सात जनामध्ये एक हुन्।

Advertisement

घटनापछि विद्यालयबाट विद्यार्थीहरू हतारिँदै बाहिर निस्किएका थिए। घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ। घटनास्थलमा शिक्षकहरू एक अर्कालाई अँगालो हालेर रोइरहेको दृश्य देखिएको थियो। उद्धारकर्मीहरूले सार्वजनिक गरेका तस्बिरमा एम्बुलेन्सबाहिर एक घाइतेलाई स्ट्रेचरमा राखिएको तथा अर्का घाइतेको स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ।

१८ वर्षीय एक विद्यार्थीले आफूले सुरुमा गोली चलेको थाहा नपाएको बताए। उनका अनुसार सुरुमा पटाका पड्किएको वा कसैले कुनै वस्तुमा प्रहार गरेको जस्तो लागेको थियो। धेरै पटक गोली चलेको आवाज आएपछि मात्रै घटनाबारे थाहा पाएको उनले बताए। थाइल्यान्डका शिक्षा मन्त्री प्रसर्ट जन्तारारुआङटोङले मृतकमध्ये शिक्षक र विद्यार्थी दुवै रहेको बताए। प्रहरीले गोली चलाउने व्यक्ति पनि सोही विद्यालयकै विद्यार्थी रहेको पुष्टि गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×