
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन्। सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारे।
सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे। सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने अवरोधबाट नआत्तिन आग्रह गरे।
उनले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ। आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ। सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ।’
उडानका क्रममा बादलका टुक्राबीच जहाज हिँड्दा हल्लिन सक्ने भए पनि दुर्घटना हुन्छ कि भनेर डराउनुनपर्ने बताउँदै उनले सबैलाई शान्त रहन आग्रह गरे। असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाउँदै उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गरे।

























