
विराटनगर । नेकपा (एमाले) का कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पद छाड्न निर्देशन दिएकै दिन उनले तत्काल राजीनामा दिने बताएका छन्।
अध्यक्षको निर्देशनअनुसार अहिले मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा नेपाली कम्युनिष्ट पार्टीलाई सहभागी गराउने प्रक्रिया अघि बढिरहेको उनले बताए। सञ्चारकर्मीहरुसँग कुरा गर्दै राईले मुख्यमन्त्री कार्कीले अध्यक्षको निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाइसकेको दाबी गरे।
एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका क्रममा नेपाली कम्युनिष्ट पार्टी सरकारमा सहभागी हुने र त्यसपछि परिस्थितिअनुसार नेतृत्व परिवर्तन हुनसक्ने उनले बताए।
मुख्यमन्त्रीले अध्यक्षसँग भेटेर छलफल गरेपछि अहिले औपचारिक रूपमा प्रक्रिया अघि बढेको र सहमतिको गाँठो फुकेको उनले बताए। राईका अनुसार एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच कोशी प्रदेश सरकारमा सत्ता साझेदारीको खाका तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
दुई दलबीच २५ गते औपचारिक छलफल गरेर मन्त्रालय बाँडफाँट, साझा कार्यक्रम र अन्य विषय टुङ्ग्याउने तयारी रहेको उनले जानकारी दिए। मन्त्रालयको संख्या नबढाइ सांसद संख्याका आधारमा सत्ता साझेदारी गरिने र सकेसम्म राज्यमन्त्री नथप्ने पक्षमा छलफल भइरहेको उनले बताए।
एमाले र नेकपाबीचको सहकार्यसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिने र नेपाली कम्युनिष्ट पार्टी सरकारमा सहभागी हुने उनले बताए। त्यस्तै, मुख्यमन्त्रीले आन्तरिक मामिला मन्त्रीलाई सरकारको प्रवक्ताबाट हटाएको विषय प्राविधिक मात्र भएको र यसलाई प्रतिशोधका रूपमा नबुझ्न उनले आग्रह गरे।
एमालेभित्र निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनको मस्यौदा तयार भइसकेको र छिट्टै केन्द्रीय कमिटीमा जाने उनले जानकारी दिए। अध्यक्षले दिएका सम्पूर्ण निर्देशन अक्षरशः पालना गर्दै सोमबारसम्म सरकारको साझा न्यूनतम कार्यक्रम र सत्ता साझेदारीको विषय टुङ्ग्याइने राईले बताए।

























