
काठमाडौं। नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा ग्यासको आयात निरन्तर वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ। भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र उद्योगहरूबाट सिलिन्डर रिफिलिङ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले आग्रह गरेको हो।
सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्ति जारी गर्दै उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरेमा अहिले देखिएको समस्या तत्कालै समाधान हुने बताए। आगामी दिनमा पनि आपूर्तिमा कुनै अवरोध नहुने भएकाले ग्यासको अभाव हुने सम्भावना नरहेको उनले स्पष्ट पारे।
नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ। निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भइसकेको छ भने चालु आर्थिक वर्षको साउन महिनाभर करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान छ। गत वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।
मागअनुसार ग्यास उपलब्ध गराउन प्रयासरत रहेको जनाउँदै सङ्घले घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर बिक्रीवितरण गर्न बिक्रेताहरूलाई निर्देशनसमेत दिएको छ।

























