
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ सिक्टीमा आइतबार ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरी चौकी सिक्टीबाट प्रहरी नायब निरीक्षक धनपति बिमलीको कमान्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा को ३४ प ७९८९ नम्बरको मोटरसाइकल चालक उर्लाबारी नगरपालिका-२ का ३२ वर्षीय प्रेमबहादुर नेपाली र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २५ वर्षीय सुजन धिमाल छन्। प्रहरीले नेपालीले लगाएको हेल्मेटको भित्री भागमा कालो प्लास्टिकले बेरेर लुकाएको अवस्थामा उक्त लागुऔषध फेला पारेको थियो।
बरामद गरिएको पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ३ ग्राम ४९० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम २७० मिलिग्राम तौल रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरी चौकी सिक्टीमा राखेर थप अनुसन्धान भइरहेको छ।

























