पूर्वी नाकाबाट वैदेशिक व्यापारसँगै व्यापार घाटा पनि चुलियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १७:५३

भद्रपुर। पूर्वी नाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि उल्लेख्य बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर ३६ अर्ब ३८ करोड नाघेको छ। आव २०८१/८२ मा २५ अर्ब ८३ करोड १० लाख रुपैयाँ बराबर रहेको व्यापार घाटा गत आवमा १० अर्ब ५५ करोड १९ लाख रुपैयाँले वृद्धि भई ३६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा यस नाकाबाट हुने आयात २२ दशमलव ७१ प्रतिशतले बढेको छ। आव २०८१/८२ मा ५१ अर्ब आठ करोड ६५ लाख रुपैयाँको सामान आयात भएकोमा गत आवमा बढेर ६२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा निर्याततर्फ भने चार दशमलव १५ प्रतिशतको मात्र वृद्धि भएको छ। आव २०८१/८२ मा २५ अर्ब २५ करोड ५४ लाख रुपैयाँको वस्तु निर्यात भएकामा गत आवमा बढेर २६ अर्ब ३० करोड ४३ लाख रुपैयाँ पुगेको छ।

Advertisement

आयात र निर्यात दुवै बढेसँगै कुल वैदेशिक व्यापार १६ दशमलव ५७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९९ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७६ अर्ब ३४ करोड १९ लाख रुपैयाँ रहेको थियो।

पूर्वी नाकाबाट हुने कुल व्यापारमा आयातको वर्चस्व झन् बढेको देखिन्छ। आव २०८१/८२ मा एक रुपैयाँको निर्यात गर्दा दुई दशमलव शून्य दुई रुपैयाँको आयात हुने गरेकामा गत आवमा उक्त अनुपात बढेर दुई दशमलव ३८ रुपैयाँ पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा ३३ दशमलव शून्य आठ प्रतिशतबाट घटेर २९ दशमलव ५६ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा ६६ दशमलव ९२ प्रतिशतबाट बढेर ७० दशमलव ४४ प्रतिशत पुगेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.