
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट खेल्ने भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई मंगलबार कोलकाताबाट पक्राउ गरिएको हो ।
एक मेडिकल छात्राले दिएको उजुरीका आधारमा पोरेलविरुद्ध बलात्कार, आपराधिक धम्की तथा अन्य विभिन्न मुद्दा दर्ता गरिएको थियो । पीडित महिलाले गत जुन महिनामा उजुरी दिएकी थिइन् । उजुरीमा उनले आफू र अभिषेक तीन वर्षदेखि सम्बन्धमा रहेको र अभिषेकले विवाहको वाचा गरेर शारीरिक सम्बन्ध राखेको दाबी गरेकी छन् । पछिल्लो समय क्रिकेटर पोरेलले विवाह गर्न अस्वीकार गरेको र कुटपिट तथा धम्की दिएको समेत आरोप लगाइएको छ ।
यो मुद्दा कलकत्ता उच्च अदालतमा विचाराधीन थियो । अदालतले गत जुलाई २० मा उनलाई पक्राउ गर्न र विद्युतीय उपकरणहरू जफत गर्न आदेश दिएको थियो । २३ वर्षीय विकेटकिपर ब्याटर पोरेलले भने आफूमाथि लगाइएका सबै आरोपहरू झुटा रहेको भन्दै अस्वीकार गर्दै आएका छन् ।
पोरेलले बंगालका लागि ११६ र आइपिएलमा ३५ खेल खेलिसकेका छन् । उनलाई दिल्ली क्यापिटल्सले ४ करोड भारतीय रुपैयाँमा टोलीमा कायम (रिटेन) राखेको थियो । उनले भारत ‘ए’ टोलीबाट इंग्ल्यान्ड र अस्ट्रेलियाको भ्रमणसमेत गरिसकेका छन् । यो मुद्दा जुन २३, २०२६ मा मोगरा प्रहरी चौकीमा दर्ता भएको थियो ।

























