
विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्।
राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ छन्।
उनीहरूले बुधबार बसेको मन्त्रिपरिषद् बैठक समाप्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामापत्र बुझाएका हुन्। केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ गठबन्धन बनाउन साउन दोस्रो हप्ता तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको जनाइएको छ।
कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ । यसअघि भएको कांग्रेस-एमाले सहमतिअनुसार दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए।

























