मापदण्डविपरीत चलेका विराटनगरका आँखा अस्पतालमा प्रशासनको ताला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १५:४३

विराटनगर। बिनाअनुमति र न्यूनतम मापदण्ड मिचेर सञ्चालन भइरहेका विराटनगरका सात वटा आँखा अस्पताल जिल्ला प्रशासन कार्यालय मोरङले शिलबन्दी गरेको छ। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रशासनको संयुक्त अनुगमन टोलीले कानुनी प्रक्रिया मिच्ने ती संस्थामा ताला लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको कमान्डमा खटिएको टोलीले बुधबार र बिहीबार अनुगमन गरी शिलबन्दी गरेको हो। कारबाहीमा पर्नेहरूमा विराटनगर-१५ रानीस्थित अखण्ड ज्योति आँखा अस्पतालसहित मलाया रोडमा सञ्चालित हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, सञ्जीवनी आँखा अस्पताल, इफ्रास आँखा अस्पताल र विराट रानी आँखा अस्पताल छन्। मापदण्ड नपुगेको पाइएपछि विराट आँखा अस्पतालको प्रयोगशालामा पनि प्रशासनले शिलबन्दी गरिदिएको छ।

Advertisement

अनुगमनका क्रममा ६ वटा अस्पताल र एउटा ल्याबले प्राविधिक तथा कानुनी नियम उल्लंघन गरी बिरामी ठगिरहेको फेला परेको प्रशासनले जनाएको छ। सञ्चालन सम्बन्धी कानुनी प्रावधानअनुसार आँखा अस्पताल चलाउन कम्तीमा १०० शय्या हुनुपर्छ।

१०० शय्याभन्दा कम क्षमता भएका वा सामान्य जाँच र प्राथमिक उपचार मात्र गर्ने संस्थाहरूलाई ‘आँखा उपचार केन्द्र’को रूपमा मात्र अनुमति दिइन्छ। यस्ता केन्द्रको स्वीकृति प्रदेश स्वास्थ्य निर्देशनालयले दिन्छ। पूर्ण रूपमा ‘आँखा अस्पताल’को स्वीकृति र सञ्चालन गर्नका लागि भने अनिवार्य रूपमा कम्तीमा १०० शय्याको पूर्वाधार हुनुपर्छ।

यस्तै, २०० शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य मन्त्रालयले दिन्छ। २०० शय्याभन्दा माथि वा विशिष्टीकृत अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने हुन्छ।

१०० शय्याको मापदण्ड पूरा नगरी केवल ‘आँखा उपचार केन्द्र’ को अनुमति लिएर जटिल किसिमको शल्यक्रिया वा पूर्ण अस्पतालको रूपमा सेवा दिनु कानुनी रूपमा मापदण्डविपरीत मानिन्छ।

ती संस्थाहरूले कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट सामान्य आँखा उपचार केन्द्रको मात्र अनुमति लिएर जटिल प्रकारका शल्यक्रिया समेत गर्दै आएको अनुगमन टोलीले फेला पारेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.