
विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपाली युवालाई स्वदेशमै रोक्न श्रम बजारलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउनुपर्नेमा जोड दिएका छन् ।
श्रम तथा रोजगार कार्यालय मोरङको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री यादवले युवालाई नेपालमै बस्न आग्रह गरेर मात्र नपुग्ने भन्दै उनीहरूले आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य दायित्व भएको बताए ।
मन्त्री यादवले बदलिँदो श्रम बजार र श्रमिकको आकांक्षालाई सम्बोधन गर्न सरकारले पहिलो पटक नयाँ श्रम नीति निर्माणको काम अघि बढाएको र श्रम ऐन संशोधनको प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिए ।
‘सरकारले चालु वर्षलाई ‘रोजगार प्रवर्द्धन दशक’ का रूपमा अघि बढाएको छ,’ मन्त्री यादवले भने, ‘हाम्रो लक्ष्य स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्नु हो ।’ उनले कृषि, पर्यटन, हरित रोजगारी र केयर सेवा जस्ता क्षेत्रमा विशेष कार्यक्रम ल्याइएको उल्लेख गर्दै रोजगारदाता र रोजगारी खोज्नेहरूबिच समन्वयका लागि ‘श्रम संसार’ प्रणालीलाई समेत स्तरोन्नति गरिएको बताए ।
श्रम कार्यालयहरूले श्रमिक र रोजगारदाता दुवैलाई कानुनबारे सचेत गराउँदै कानुन कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । गत आर्थिक वर्षमा मात्रै ३ हजार ८३० वटा प्रतिष्ठान र ३ हजार ६३५ वटा बालश्रम निरीक्षण गरिएको तथा ७६१ वटा श्रम विवाद समाधान गरिएको तथ्यांक उनले प्रस्तुत गरे ।
विराटनगर–३ मदन नगरमा ५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भएको नवनिर्मित भवनबाट सेवा प्रवाह थप सहज, व्यवस्थित र श्रमिकमैत्री हुने विश्वास लिइएको कार्यालय प्रमुख नीरज देवले बताए ।

























