
विराटनगर । कोशी प्रदेश सरकार सोमबार (आज) पुनर्गठन हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गत साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार नयाँ समीकरणका साथ सरकार पुनर्गठन हुन लागेको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणका लागि प्रदेश प्रमुख परशुराम खापुङसँग आज दिउँसो ३ बजेका लागि समय माग गरिएको छ । सहमति अनुसार एमालेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ५ वटा मन्त्रालय र नेकपा ४ वटा मन्त्रालय पाउने छन् ।
एमालेका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू पुरानै रहने जनाइएको छ । उनीहरूले निरन्तरता पाए पनि जिम्मेवारी ९मन्त्रालय० भने हेरफेर हुने एमाले स्रोतले बताएको छ ।
यता, सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन नेकपालाई भने निकै सकस परेको छ । शपथ ग्रहणको समय नजिकिँदा समेत अन्तिम नामावली तयार पार्न सकेको छैन । मन्त्रीका आकांक्षी धेरै भएपछि अहिले नेकपा प्रदेश कमिटी सचिवालयको बैठक बसिरहेको छ ।

























