कांग्रेसको १५ औँ महाधिवेशन मंसिरमै हुने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार १७:५८
कांग्रेसको १५ औँ महाधिवेशन मंसिरमै हुने 

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने स्पष्ट पारेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले मंगलबार एक विज्ञप्तिमार्फत महाधिवेशन तोकिएकै समयमा हुने सुनिश्चितता गरेका हुन् ।

प्रवक्ता चालिसेका अनुसार केन्द्रीय कार्यसमितिको पूर्व निर्णय बमोजिम आगामी २०८३ मंसिर १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औँ महाधिवेशन आयोजना हुनेछ । पार्टीको विधान, नेपालको संविधान र प्रचलित कानुनको भावनालाई आत्मसात् गर्दै समयमै महाधिवेशन गर्नु कांग्रेसको वैधानिक र राजनीतिक दायित्व भएको उनले उल्लेख गरे ।

Advertisement

‘महाधिवेशनलाई केवल नेतृत्व चयनको निर्वाचन प्रक्रियामा मात्र सीमित गरिने छैन,’ चालिसेले भने, ‘यसलाई पार्टीको लोकतान्त्रिक नवीकरण, आन्तरिक एकता, संवाद र व्यापक सहभागिताको विशेष अवसरका रूपमा अगाडि बढाइने छ ।’

भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षा र त्यसले पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै वडा तथा पालिका तहको निर्वाचन कार्य तालिकामा भने केही लचकता अपनाइएको छ । वर्षाका कारण तल्लो तहको निर्वाचन प्रभावित हुन सक्ने अवस्था आएमा केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी सामान्य हेरफेर गर्न सक्नेछ । तर, यसले केन्द्रीय महाधिवेशनको मितिलाई भने कुनै असर नगर्ने प्रवक्ता चालिसेले स्पष्ट पारे ।

महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको छ । पार्टीले आफ्ना सम्पूर्ण क्रियाशील सदस्यहरूको डिजिटल अभिलेख राख्ने प्रक्रिया सुरु गरेको छ । सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्ने कार्यलाई सरल, विश्वसनीय र प्रविधिमैत्री बनाउन ‘डिजिटल प्रणाली’ अवलम्बन गरिएको छ ।
प्रक्रिया पूरा गरेका सदस्यहरूलाई पार्टीको डिजिटल परिचयपत्र उपलब्ध गराइने छ भने प्राविधिक कारणले नाम छुटेका सदस्यहरूका लागि पुनः अद्यावधिक गर्ने निश्चित समय प्रदान गरिने निर्णय भएको छ ।

महाधिवेशनको भव्य तयारीका लागि पार्टीले ‘मूल व्यवस्थापन समिति’ सहित विभिन्न उपसमितिहरू गठन गरेको छ । ती समितिहरूमा संयोजक र सदस्यहरू नियुक्त गर्ने जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ । डिजिटल प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान गर्दै सदस्यता व्यवस्थापन समितिलाई आवश्यक अख्तियारीसमेत प्रदान गरिएको प्रवक्ता चालिसेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.