
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित ८ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । थाइल्यान्डबाट अवैध रूपमा नेपाल भित्र्याइएको ३९ किलो २८८ ग्राम उच्च स्तरको ‘थाई गाँजा’ सहित ८ जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले विशेष सूचनाका आधारमा गत साउन ३१ गते राति उनीहरूलाई नियन्त्रणमा लिएको हो । ब्युरोका अनुसार पक्राउ पर्नेमा पाँच जना म्यानमारका र तीन जना भारतीय नागरिक रहेका छन् । थाइल्यान्डको बैंकक र फुकेटबाट छुट्टाछुट्टै उडानमार्फत काठमाडौं ओर्लिएका उनीहरूको साथबाट ठुलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
बैंककबाट थाइ एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत आएका म्यानमारका नागरिकहरू २३ वर्षीय जार नि लिन, २६ वर्षीया एइ एइ थ्वे, ३९ वर्षीय आउङ ब्वार, ३२ वर्षीया छु म्याथवाल सेन र ३२ वर्षीय जिन म्यो आउङ पक्राउ परेका छन् ।
त्यसैगरी, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडान नम्बर ओडी ५४१ मार्फत आएका भारतको पंजाबका तीन नागरिक पनि समातिएका छन् । पक्राउ पर्नेमा २३ वर्षीय खुशदीप, ३२ वर्षीय गुरदीप सिंह र २६ वर्षीया कामिनी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शंका लागेर चेक गर्दा उनीहरूले बोकेको लगेजबाट ३९.२८८ केजी थाई गाँजा फेला परेको हो । प्रहरीले उनीहरूको साथबाट ८ थान राहदानी र ८ थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका आठै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



















