
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रीय कार्यालय राखेर सञ्चालित मुलुकी सञ्चार नेटवर्क प्रालिले प्रकाशन गर्दै आएको मुलुकी खबर डटकम बुधबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । अपराध र कानुनका विषयलाई प्राथमिकतामा राखेर दुई वर्षअघि सुरु भएको मुलुकी खबरले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
सन्तुलित, विश्वसनीय र तथ्यपरक सूचना प्रवाह गर्ने उद्देश्यसहित २०८१ भदौ ३ गते औपचारिक रूपमा सञ्चालनमा आएको मुलुकी खबरले दुई वर्षको अवधिमा समाचार, लेख, अन्तर्वार्ता तथा भिडियो सामग्रीमार्फत पाठक, दर्शक र श्रोतामाझ आफ्नो उपस्थिति स्थापित गरेको हो । विशेषगरी कानुन र अपराधसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको मुलुकी खबरले समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा सार्वजनिक सरोकारका विषयलाई समेत निरन्तर स्थान दिँदै आएको छ ।
दुई वर्षको यात्राका क्रममा मुलुकी खबरले विभिन्न आरोह–अवरोह र चुनौतीको सामना गरेको छ । सीमित स्रोतसाधनका बीच विश्वसनीय पत्रकारितालाई केन्द्रमा राख्दै समाचार सामग्री उत्पादन र प्रकाशनलाई निरन्तरता दिएको छ । सूचना प्रविधिमा आएको तीव्र परिवर्तन, सञ्चारमाध्यमबीच बढ्दो प्रतिस्पर्धा र सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचनाका बीच तथ्यमा आधारित पत्रकारितालाई आफ्नो मुख्य आधार बनाउँदै मुलुकी खबर अघि बढेको हो ।
मुलुकी खबरको सुरुवात नै कानुन र अपराधका विषयलाई प्राथमिकतामा राखेर भएकाले यस क्षेत्रमा यसको छुट्टै परिचय बनेको छ । अदालत, प्रहरी, कानुनी प्रक्रिया, अपराध अनुसन्धान, मानवअधिकार तथा सार्वजनिक सरोकारसँग जोडिएका विषयलाई तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्ने प्रयास गर्दै आएको मुलुकी खबरले आगामी दिनमा आफ्नो सामग्रीको दायरा अझ फराकिलो बनाउने योजना बनाएको छ ।
तेस्रो वर्षको सुरुवातसँगै मुलुकी खबरले आफ्नो प्रस्तुति र सामग्रीमा समेत केही नयाँपन ल्याउने तयारी गरेको छ । कानुन र अपराधलाई प्राथमिकतामा राख्ने मूल उद्देश्यलाई निरन्तरता दिँदै राजनीतिक, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, विकास, संस्कृति र जनजीविकासँग सम्बन्धित समसामयिक विषयलाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्ने तयारी गरिएको छ । समाचारसँगै खोजमूलक सामग्री, विश्लेषण, अन्तर्वार्ता तथा भिडियो सामग्रीलाई समेत थप व्यवस्थित बनाउने लक्ष्य मुलुकी खबरले लिएको छ ।
दुई वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने पाठक, दर्शक, श्रोता, विज्ञापनदाता, शुभचिन्तक, पत्रकार, स्रोत तथा सम्पूर्ण सहयोगीप्रति मुलुकी खबर परिवार आभार व्यक्त गर्दछ । आगामी दिनमा पनि पत्रकारिताको मूल धर्म, तथ्यपरकता, सन्तुलन र विश्वसनीयतालाई केन्द्रमा राख्दै पाठकको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता मुलुकी खबरको छ ।
दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा मुलुकी खबरले आफ्नो यात्रालाई नयाँ उत्साहका साथ अघि बढाउँदै सूचना, समाचार र जनसरोकारका विषयमा अझ प्रभावकारी उपस्थिति जनाउने लक्ष्य लिएको छ । साथै, मुलुकी खबरले प्रत्येक दिन प्रसारण हुँदै आएको टप थ्री (मुख्य तीन) समाचारलाई बुधबारबाट टप सिक्स (मुख्य छ) समाचार बनाएर प्रसारण गर्नेछ ।



















