
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–९ नवलपुरबाट प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
हरिवन नगरपालिका–२ चुरेकालीका ३० वर्षीय सुशील साह, २५ वर्षीया जगतारन साह र २५ वर्षीया राधिका साहलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये सुशील साह अटो चालक हुन् । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा नवलपुरस्थित अन्जली हस्पिटल अगाडि प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोलाई रोकेर खानतलासी गर्दा लागुऔषध गाँजा फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले अटोलाई खानतलासी गर्दा अटोभित्र पाँच वटा पोकामा लुकाएर राखिएको अवस्थामा २२ किलो ८२० ग्राम गाँजा फेला परेको थियो । पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ परेका तीन जनालाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























