‘एमालेभित्र लोकतन्त्र कमजोर भयो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १०:३२

काठमाडौं। नेकपा (एमाले) की नेतृ उषाकिरण तिम्सेनाले पार्टीभित्र लोकतन्त्र कमजोर बनेका कारण एमाले कमजोर परिस्थितिमा पुगेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्न नसक्ने बताएकी छन्।

अनेरास्ववियुमार्फत २०५९ सालमा एमालेको संगठित सदस्यता लिएको स्मरण गर्दै उनले अवसर वा ‘ठूलो मान्छे’ बन्ने चाहनाले नभई परिस्थितिबस राजनीतिमा आइपुगेको स्पष्ट पारेकी छन्। विद्यार्थी राजनीतिदेखि नै पार्टीभित्रका केही नेताहरूले आफूलाई रोक्न खोजेको भए पनि त्यसलाई पन्छाउँदै अघि बढेको उनको भनाइ छ।

Advertisement

नेतृ तिम्सेनाले पार्टीभित्र रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण गर्दा पनि अब एमालेको भविष्य कस्तो हुन्छ भन्ने विषय अनिश्चित रहेको उल्लेख गरेकी छन्। कुनै विषयमा छलफल गर्दा एमालेका केही व्यक्ति र खासगरी नेताका पछि लाग्नेहरूको अभिव्यक्ति हदसम्मको अश्लील, अराजनीतिक र स्त्रीद्वेषी देखिएको भन्दै उनले आपत्ति जनाएकी छन्।

आफूविरुद्ध सामाजिक सञ्जालमा अश्लील टिप्पणी गर्ने र गालीगलौजमा उत्रिनेहरूका केही स्क्रिनसटहरू प्रहरीको साइबर ब्युरोमा बुझाउने तयारी भइरहेको जानकारी पनि उनले दिएकी छन्।

आफूले गरेका सबै राजनीतिक कामको जिम्मेवारी लिन तयार रहेको बताउँदै उनले आधिकारिक कमिटीले गर्ने निर्णयप्रति कुनै गुनासो नरहने स्पष्ट पारेकी छन्। संविधानले सबैलाई बोल्ने र विचार व्यक्त गर्ने स्वतन्त्रता दिएको स्मरण गराउँदै उनले कसैमाथि व्यक्तिगत आक्षेप नलगाउन र अपशब्द प्रयोग गर्नुअघि सोच्न कार्यकर्ताहरूलाई आग्रह गरेकी छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×