जापानीज इन्सेफ्लाइटिसबाट २१ जनाको मृत्यु, सबैभन्दा बढी कोशीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार २१:३९
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु

काठमाडौं। जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट पछिल्लो डेढ महिनामा नेपालमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। यही अवधिमा ५९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्यांकअनुसार जेई संक्रमणबाट सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा भएको छ।

कोशीमा २४ जना संक्रमित भएकामा १० जनाको मृत्यु भएको छ। मधेशमा १९ संक्रमितमध्ये ६, लुम्बिनीमा ७ मध्ये २, सुदूरपश्चिममा १३ मध्ये २ र बागमतीमा १० मध्ये १ जनाको मृत्यु भएको छ। गण्डकीमा ५ र कर्णालीमा १ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

जिल्लागत रूपमा झापामा जेईको अवस्था गम्भीर देखिएको छ। झापामा पुष्टि भएका १० संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। पर्सामा ४ संक्रमितमध्ये २, नवलपरासीमा २ मध्ये १ र इलाममा २ मध्ये १ जनाको मृत्यु भएको तथ्यांक छ।

यस वर्ष जेई संक्रमणको मृत्युदर करिब २५ प्रतिशत पुगेको छ। संक्रमितमध्ये ८९ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु भएकामध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका छन् भने मृत्यु भएका सबैले खोप नलगाएको तथ्यांकले देखाएको छ।

जेईको संक्रमणबाट हुने असर मृत्युमा मात्रै सीमित छैन। संक्रमणबाट बाँचेकामध्ये कतिपयमा मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर क्षति पुगेर दीर्घकालीन अपांगता हुने गरेको छ। उदयपुरको बेलका नगरपालिका–६ का १४ वर्षीय सयल राई यसको एउटा उदाहरण हुन्। दुई वर्षअघि जेई संक्रमण भएपछि उनी अहिले पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। उनी भेन्टिलेटरको सहायतामा श्वास फेरिरहेका छन्।

संक्रमण हुँदा १२ वर्षका सयल कक्षा ६ मा अध्ययनरत थिए। अहिले उनका साथीहरू कक्षा ८ मा पुगिसकेका छन्। तर सयल भने लामो समयदेखि अस्पतालको शय्यामा छन्। उनी आफैं सास फेर्न, बोल्न र ओल्टिन–पल्टिनसमेत सक्दैनन्।

सयलकी आमा निर्मलाका अनुसार छोराको उपचारमा अहिलेसम्म ठूलो रकम खर्च भइसकेको छ। विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा करिब ८ लाख रुपैयाँ खर्च भएको थियो। त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा करिब ४० लाख रुपैयाँ तिर्न बाँकी रहेको उनले बताइन्।

लामो समय अस्पतालमा बस्नुपर्दा परिवार आर्थिक संकटमा परेको छ। छोराको हेरचाहमा आमा अस्पतालमै बसिरहेकी छन् भने उनका श्रीमान् खर्च जुटाउन भारतको सीमाक्षेत्रमा गिट्टी–बालुवा बोक्ने काम गर्न गएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. बसन्त राईले सयल पूर्ण रूपमा निको हुनेबारे अहिले नै भन्न नसकिने बताए।

उनका अनुसार जेईबाट बाँचेकाहरूमा समेत जीवनभर रहने गम्भीर असर देखिन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार जेई संक्रमण भएकामध्ये करिब एक तिहाइको मृत्यु हुने, एक तिहाइमा जीवनभर गम्भीर अपांगता हुने र बाँकी एक तिहाइ निको हुने गर्छन्। जेई क्युलेक्स जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट जोगिनुका साथै जेईविरुद्धको खोप लगाउन आग्रह गर्दै आएका छन्।

नेपालमा जेईको जोखिम विशेषगरी वर्षायाममा बढ्ने गरेको छ। पछिल्लो समय संक्रमण र मृत्युदर बढ्दै गएपछि स्वास्थ्य अधिकारीहरूले आगामी दिनमा थप संक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
अवैध काठसहित दुई जना पक्राउ 
सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय पक्राउ
बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु
सरकारी सेवा सुधार्न ३० दिने ‘क्विक फिक्स’ योजना, अनावश्यक झन्झट हटाउने सरकारको तयारी
देशभर ९८ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १.९२ प्रतिशत बढी
 कोशी प्रदेशसभामा दलित अधिकारसम्बन्धी विधेयक दर्ता 
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जापानीज इन्सेफ्लाइटिसबाट २१ जनाको मृत्यु, सबैभन्दा बढी कोशीमा
१५ औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट नदिएको खड्काको स्पष्टोक्ति
कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार
संसदमा निदाएको भिडियो भाइरल भएपछि मन्त्री पुनको स्पष्टीकरण
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×